बुटवल, १० साउन । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनैपनि बेला जोकोहीलाई रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान हो ।
‘रक्तदान जीवन दान’ मन्त्रलाई आत्मसाथ गर्दै र बढ्दो रगतको मागलाई केही हदसम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लव अफ मणिग्राम रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम गरेको छ । क्लवको बर्ष २०२०÷२१ को चौथो कार्यक्रम अन्तर्गत क्लवले रक्त सञ्चार केन्द्र बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा अन्य गरी ५० जनाले रक्तदान गरेका छन् ।
नेपालमा वर्षेनी करिब ३ लाख युनिट रगतको आवश्यकता पर्छ । तर जहिले पनि रगत अभावको समाचार आइरहेका हुन्छन् । यही अभावलाई पुर्ति गर्न र अन्य क्लव तथा सामाजिक संघसंस्थाहरुलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले क्लवले मानविय सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको क्लवका सदस्य बाबुराम पाठकले बताउनु भयो ।
लायन्स क्लव अफ मणिग्रामका अध्यक्ष लायन सुरजकुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन सुनिल ओझाले अत्यधिक रक्तश्रावका बिरामी, प्रसुति, सडक दुर्घटना, बाढी, पहिरो, भूकम्प जस्ता घटनाहरूमा परी घाईते विमारीहरुलाई अनिवार्य रगतको आवश्यक्ता पर्ने कुरालाई मध्येनजर गरी लायन्स क्लव अफ मणिग्रामले रक्तदान कार्यक्रम गरेर सह्रायिन कार्य गरेको वताउनु भयो ।
कार्यक्रममा रुपन्देहीमा सबैभन्दा वढि रक्तदान गर्ने रक्तदाता पुर्णचन्द्र सुबेदीले नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको अवस्था र रगत अभावकै कारण बिरामीको मृत्यु भएका समाचार आईरहेको अवस्थामा लायन्स क्लव अफ मणिग्रामले रचनात्मक र उदाहरणिय काम गरेको भन्दै आगामी दिनमा पनि प्रचारमुखि भन्दा सेवामुखि काम गर्न क्लवलाई आग्रह गर्नुभयो ।
क्लवका पदाधिकारीले आफ्नो जिम्मेवारी सम्हालेको छोटो समयमै विभिन्न रचनात्मक र सेवामुलक कार्यक्रम गर्दै आइरहेका छन् । सामाजिक क्षेत्रमा नमुना काम गरेर क्लवलाई नमुना क्लवको रुपमा स्थापित गर्ने गरी क्लवका गतिविधि अगाडी बढाउने क्लवका अध्यक्ष सुरजकुमार लम्सालले बताउनु भयो । सो अवसरमा एक्स्पर्ट एजुकेशन भिसा एण्ड सर्भिस सेण्टरले रक्तदाताहरुलाई टिशर्ट लगायतका सामाग्री प्रदान गरेको थियो ।
