बुटवल, १० साउन । आज नाग पञ्चमी । हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा अर्चना गरी नाग पञ्चमी मनाउने गरिन्छ । आजको दिन नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आराधना गरिन्छ ।
नागको पूजा आरधना पछि यिनै नागहरु अकिंत चित्र ब्राह्मण पुरोहितहरुले आ–आफ्नो जजमानको घरको दैलोमा गाइको गोबर र दूबो लगाएर टाँस्ने गर्दछन् । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नी, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यसरी घरमा नागका चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन गराउने चलन छ ।
नाग पञ्चमीका दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश र गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा, इनार तथा नागको थानमा गएर पूजा गर्ने चलन छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ ।
नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैयामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
