बुटवल, ९ साउन । रुपन्देहीमा अलग अलग घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मर्चवारी गाउँपालिका–५, बडवलिया बस्ने कमरुद्दिन मुसलमानको ५ बर्षिय छोरा तवरेज मुसलमानको सर्पले डसेर मृत्यु भएको छ । घरमै बसेको अवस्थामा हिजो सांझ साढे सात वजे तरवेजको दाहिने हातमा सर्पले डसेपछि उपचारका लागि भिम अस्पताल भैरहवा पठाईएकोमा उपचारको क्रममा हिजै राती साढे ८ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।
यस्तै आज विहान अन्दाजी ११ बजेको समयमा मायादेवी गाउँपालिका–६ बेथरी बस्ने मक्खु पासवानको श्रीमती वर्ष ४० की इन्द्रा पासवानको करेण्ट लागि मृत्यु भएको छ । पासवानले टेबुल पँखा समाउदा अचानक करेन्ट लागी घाईते भएको र इलाका प्रहरी कार्यालय वेथरीको प्रहरी टोलिले तत्काल उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा साढे ११ बजे मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
यसैगरी मायादेवी गाउँपालिका–६ गुरबनिया स्थित लुम्बिनी–भैरहवा हुलाकी सडक खण्डमा ट्रकले ठक्कर दिदा सोही ठाउं वस्ने वर्ष ३६ की अमिरुन निसा खानको मृत्यु भएको छ ।
लुम्बिनीबाट भैरहवा तर्फ आउदै गरेको लु २ ख २१७ न.को ट्रकले ठक्कर दिई घाईते भएकी खानलाई तत्काल उपचारको लागि भिम अस्पताल भैरहवा पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
