नरेश चौधरी
सियारी, ७ साउन । रुपन्देहीको सियारी गाउँपालिकाले कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरि पुरस्कार वितरण गरिएको हो । सवैभन्दा बढि विद्यालयमा हाजिर हुने विद्यार्थी छनौट गरी प्रथम, द्वितीय र तृतिय पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबैभन्दा बढि हाजिर हुने विद्यार्थीलाई प्रथम पुरस्कार छ हजार, द्वितीयलाई रु. पाँच हजार र तृतियलाई रु तीन हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै कक्षा ५ मा सबै भन्दा वढि हाजिर हुने विद्यार्थीलाई प्रथम पुरस्कार रु सात हजार, द्वितीयलाई रु पाँच हजार पाँच सय र तृतियलाई रु चार हजार तथा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये सबैभन्दा वढि हाजिर हुनेलाई प्रथम पुरस्कार रु आठ हजार, द्वितीयलाई रु छ हजार र तृतियलाई रु पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी गराउनु भयो ।
यस खालको पुरस्कार तथा प्रोत्साहनले विद्यार्थीहरुलाई नियमित विद्यालयमा उपस्थित गराउन तथा शैक्षिक गुणस्तर सुधारमा मद्दत मिल्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
यस्तै गाउँपालिका भित्र रहेका धार्मिक बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई खेल्दै पढ्ने शैक्षिक समाग्री, खेलकुद तथा खेलौनाका सामान पनि वितरण गरिएको छ । बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन यी समाग्री बुधबार वितरण गरिएको हो ।
गत आर्थिक वर्ष ०७६÷७७ मा मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको रु. ५ लाख रकम बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । यस अघि लकडाउनका कारण सो सामाग्री वितरण गर्न बांकी रहेकाले लकडाउन ख्ुले संगै समाग्री वितरण गरिएको उहाँले बताउनु भयो । गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न समयमा आर्थिक, भौतिक तथा अन्य सहयोग गर्दै आएको छ ।
पालिकामा जनप्रतिनिधि आईसकेपछि बालबालिकाहरुको स्वास्थ्यका लागि कुपोषणको दर घटाउन गर्भवती महिलाहरुको परिक्षण तथा आवश्यक पौष्टिक आहार र औषधी निःशुल्क रुपमा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।
विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधार र शिक्षण सिकाईकालागि उचित वातावरण निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने गाउँपालिका उपाध्यक्ष गुरुङको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मिनप्रसाद भट्टराई, लेखा अधिकृत नारायण पौडेल, शिक्षक, अभिभावक लगाएतले बोल्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा विद्यालय प्रति आकर्षण बढ्नुका साथै उपस्थिति दर वढाउन समेत टेवा पुग्ने धारणा राख्नु भएको थियो ।
