बुटवल, ६ साउन । तिलोत्तमा नगरपालिकाले क्वारेण्टाइन बन्द गर्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुलुक मुक्त नभइसकेको अवस्थामा क्वारेन्टाइनहरु बन्द गर्ने नगरपालिको निर्णय उचित नभएको काँग्रेसले जनाएको छ ।
भारत तथा तेश्रो मुलुकमा अहिले पनि थुप्रै नेपालीहरु रहेको र लकडाउन खुकुलो तथा खुलेसंगै उनीहरु स्वदेश फकर्न सक्ने भएकाले मापदण्ड अनुरुपको क्वरेन्टाइन व्यवस्थापन गर्नुपर्ने माग काँग्रेस तिलोत्तमा नगर समितिले गरेको छ ।
नगर सभापति हरिलाल पाण्डेले विज्ञप्ति जारी गरी यसअघि विपत व्यवस्थापन केन्द्र (सिएमसि) तिलोत्तमाको बैठकमा नेपाली काँग्रेसले विदेशबाट फर्किनेको संख्या कायमै रहेकाले तत्काल क्वारेन्टाइन बन्द गर्नु उचित नहुने स्पष्ट धारणा राखेको स्मरण गराउनु भएको छ । विज्ञप्तिमा नगरपालिकाले एकलौटी ढंगले गरेको अव्यवहारिक निर्णय काँग्रेसलाई मान्य नहुने उल्लेख गरिएको छ ।
बहालमा बस्ने वा होम क्वारेन्टाइनमा बस्न सम्भव नभएका तथा आर्थिक स्थिति कमजोर भएका नागरिकहरुका लागि क्वारेन्टाइन बन्द गर्ने नगरपालिकाको निर्णय न्यायोचित र व्यवहारिक नरहेको बिज्ञप्तिमा उल्लेख छ । भारत तथा तेश्रो मुलुकबाट फर्केकालाई सिधै घरमा पठाउँदा समाजमा त्रास पैदा हुने र यसले सामाजिक द्वन्द निम्तिन सक्ने संभावना प्रति सचेत र संवेदनसिल बन्न काँग्रेस तिलोत्तमा नगर समितिले नगरपालिकालाई आग्रह समेत गरेको छ ।
