काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी लकडाउन खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को वैठकले लकडाउन साउन आज (मंगलबार) मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय गरिएको मन्त्रि खतिवडाले बताउनु भयो ।
सरकारले मंगलबार मध्यरातवाबाट कडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, व्युटी पार्लर, स्विमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छन् ।
मन्त्रिपरिषद बैठकले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने र भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षाफल प्रकाशनका काम गर्न सकिने निर्णय गरेको मन्त्रि खतिवडाले बताउनु भयो । यस्तै लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय भएको उहांले बताउनु भयो । यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको पनि मन्त्रि खतिवडाले वताउनु भयो ।
सरकारले कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । यसपछि पटक पटक म्याद थप्दै जेठ २६ गते सम्म पूर्ण रुपमा लकडाउन कायम राखेको सरकारले त्यसपछि लकडाउन विस्तारै खुकुलो बनाउदै निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको थियो ।
