बुटवल, १ साउन । आज साउन महिनाको पहिलो दिन । आजको दिनलाई साउने संक्रान्ति भन्ने गरिन्छ । साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । आजैको दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्दछ । त्यसकारण साउन १ गतेबाट दिन छोटो र रात लामो हुँदै जान्छ ।
धार्मिक ग्रन्थअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरी मानवहितका लागि काम गरेकोले महिलाहरुले सौभाग्य पाएको विश्वास अनुसार साउनमहिनामा सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन छ ।
विवाहित महिलाले आजदेखि साउन महिनाभर सौभाग्यको प्रतिक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्ने चलन छ । महिलाहरुले हरियो, पहेंलो, रातो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउने गर्दछन् । साउने संक्रन्तिदेखि हिन्दु धर्मका चाडपर्व पनि सुरु हुने गर्दछ ।
यसका साथै असारमा हिलो मैलोमा खेतिपाती गरेपछि शरीर फोहर हुने र शरीरमा लुतो, घाऊ खटिरा आउन सक्छ भनेर सरसफाइ गर्ने र यस्तो ब्याधी नासक खानेकुरा खाने दिनका रुपमा पनि साउने संक्रान्ति मनाइन्छ ।
यसै गरी आज लुतो फाल्ने गरिन्छ । विशेष गरी ग्रामिण क्षेत्रमा साँझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फाल्ने गरिन्छ । यसलाई लुतो फालेको भन्ने चलन छ ।
लुतो फाल्ने आआफ्नै चलन र परम्परा रहि आएको छ । कतिपय ठाउंमा लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।
साउन महिनाभर देशभरका शिव मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण साउन महिनाको पहिलो दिन आज मन्दिरहरुमा भिडभाड कम देखिन्थ्यो ।
