बुटवल, २८ असार । कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरि आइतबारदेखि रुपन्देहीमा सार्वजिनक बस सञ्चालन भएकोे छ ।
बस चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरि बस संचालन शुरु गरिएको लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी गराउनु भयो । साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक सुरु गरिएको हो ।
आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकुलित बसहरु चल्न थालेका छन् । सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पूरा गरेर प्रा.लि.ले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको हो ।
‘बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो’ प्रा.लि.का अध्यक्ष अधिकारीले बताउनु भयो ।
यातायात ब्यवसायी महासंघले सरकारसँग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पु¥याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सुचारु गर्न थालिएको अध्यक्ष अधिकारीले बताउनु भयो । वातानुकूलित बस भएकाले प्रा. लि. ले बुटवल–भैरहवाको ९० रुपैयाँ र भैरहवा–बर्दघाटसम्मको भाडा दर २ सय १० रुपैयाँ कायम गरेको छ ।