बुटवल, २८ असार । रुपन्देहीमा भएका अलग अलग सवारी दूर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कञ्चन गाउँपालिका वडा नं.५ पिपरिचापा स्थित लुम्बिनी फायरलाईन सडकखण्डमा बा १५ च ९३८९ नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सालको रुखमा ठोक्किन जाँदा चालक सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिपमा सवार जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वार्ड नं.१० बस्ने नबिनकुमार थापा, तिलोत्तमा नगरपालिका वार्ड नं.७ बस्ने बर्ष ३७ को यमबहादुर राना, वार्ड नं.२ बस्ने बर्ष ३१ को सन्दिप श्रेष्ठ, बर्ष २५ को सुवाष क्षेत्री र जिप चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वार्ड नं.११ शिवपुर बस्ने बर्ष ३८ को सुरज खड्का घाईते भएका थिए ।
घाईते सबैलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा जिप चालक खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाईतेहरु उपचार पश्चात घर फर्केका छन् ।
त्यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं. १२ भिमकालीपथ स्थित भित्री सडक खण्डमा प्रदेश २–०३–००७ प ८७९४ नं. को (अनटेस्ट) स्कुटी आफै अनियन्त्रित भई पल्टिन जाँदा स्कुटी चालक सिद्धार्थनगर नगरपालिका २ बस्ने बर्ष ४६ को दिपककुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते यादवको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले जानकारी गराउनु भयो ।
