बुटवल, ३१ असार ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुगुरुर्देवो महेश्वर ।।
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नम ।।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यस्तै विद्यार्थीहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी आचार्य दिवसका रुपमा गुरुपुर्णिमा पर्व मनाउदैछन् ।
प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई आमाबाबु, गुरु र अतिथीलाई देवता भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बाबुलगत्तै उच्च सम्मान दिने गरिएको पाईन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।
आजको दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ र आत्मियता बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । यस पर्वले गुरु र विद्यार्थी बीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न पनि निर्देशन गर्छ ।
