काठमाण्डौ, ५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा सरकारले रोक लगाएको हो ।
२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन यही असार १ गतेदेखि केही खुकुलो भएको अवस्थामा लकडाउनको समयमा नागरिकको सुरक्षालाई लक्षित गरेर अत्यावश्यक काम वाहेक अनावश्यक हिँडडुल गर्नेमाथि गृहमन्त्रालयले कडाई गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो ।
सुरक्षा मापदण्ड अनुसार विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने, अत्यावश्यक कामले आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने, तोकिएको कार्यस्थलमा स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ ।


वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्न तथा अत्यावश्यक काम वाहेक अनावश्यक हिँडडुल नगर्न पनि गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै बस्न पाउने, भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने र सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाईसमेत उच्च सर्तकता अपनाएर काम गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।