दाङ, ५ असार । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरस संक्रमण देखिएका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबै सेवा दुई दिनकालागि बन्द गरेको छ ।
प्रतिष्ठानमा कार्यरत चार जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको स्वाव परीक्षण गर्दा कोभिड–१९ को संक्रमण पुष्टि भएका कारण दुई दिन आकस्मिक लगायतका सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले विज्ञप्ति जारी गरी अस्पताल परिसर स्ट्रेईलाईज गर्नुपर्ने हुनाले दुई दिन प्रतिष्ठानका सबै सेवा बन्द गर्नुु परेको जनाउनु भएको छ । विज्ञप्तिमा प्रतिष्ठान बन्द हुंदा विरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठान क्षमाप्रार्थी छ भनिएको छ ।
अन्य सरकारी तथा निजी अस्पतालहरुलाई यस विषम परिस्थितिमा प्रतिष्ठानवाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गर्न समेत प्रतिष्ठानले अनुरोध गरेको छ ।
संक्रमित चारै जना चिकित्सक तथा स्वास्थ्यकर्मी प्रतिष्ठानको सम्पर्कमा रहेको र निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रतिष्ठानले जनाएको छ ।