तिलोत्तमा, ३ असार । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सामुदायिक वनमा बिरुवा रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । बुधबार आफ्नो ६१ औं जन्मोत्सवको अवसर पारेर न्यौपानेले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्नुभएको हो । नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज समेत रहनुभएका न्यौपाने ५ नम्बर प्रदेशको प्रदेशसभा सदस्य भएका कारण सो ठाउंमा पाँचवटा बिरुवा रोप्नु भएको छ ।
प्रदेश ५ का अर्थ, उद्योग एवं पर्यटन समितिका सभापति समेत रहनुभएका सभासद न्यौपानेले आँप, लिचि, कागतीलगायतका बिरुवा रोप्नुभएको हो । वृक्षारोपण अभियानलाई सार्थक बनाउन र वातावरण संरक्षणका लागि जन्मदिन पारेर वृक्षारोपण गरेको भन्दै न्यौपानेले सबैलाई रचनात्मक काम गरेर जन्मदिन मनाउन आग्रह गर्नुभयो । वृक्षारोपण कार्यक्रममा सहभागि सामुदायिक वनका पदाधिकारी, सदस्य एवं नेकपाका नेता कार्यकर्ताहरुले न्यौपानेलाई जन्म दिनको शुभकामना ब्यक्त गरेका थिए ।
