नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्मा सवार कार आइतबार दुर्घटनामा परेको र सोही दुर्घटनामा परेर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उहां सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारपियो गाडी बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारको क्रममा शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक अजय केसीले जानकारी गराउनु भयो ।
शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते हुनुभएको र उहां खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैगर्दा कार दुर्घटनामा परेको हो ।
शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षाक राजु लामाले जानकारी दिनुभयो ।