बुटवल २० जेठ
नेपाल भारत सीमा क्षेत्र दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान, नेपालले माग गरेको छ ।
अभियानका संयोजक अधिवक्ता बालकृष्ण चापागाईंले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाउनु भएको छ् ।
उहाँले विज्ञप्तीमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि समेटिएको नक्सा नेपाल सरकारले जारी गरी आफ्नो भूमिको रक्षाको लागि दृढतापूर्वक अगाडि बढिरहेको बेलामा सीमा क्षेत्रको दशगजासँगै जोडेर देशका विभिन्न भागमा भारतले सडक निर्माण कार्य जारी राखेकोमा गम्भिर आपत्ति जनाउनु भएको हो ।
हालै भारतले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ का इमिलीहवा, बुची, बोधवार र विष्णुपुरा गाउँ डुवानमा पर्ने गरी सडक निर्माण गर्नु सीमा सम्बन्धि अन्तर्रा्ष्ट्रिय मान्यताविपरीत भएको भन्दै विज्ञप्तीमा भारतले दशगजासँग जोडेर वरिपरीको क्षेत्रमा सडक निर्माण गर्ने, प्राकृतिक बहावलाई अवरुद्ध गरी नेपाली भूमिलाई डुवानमा पार्ने गरी तटबन्ध गर्ने जस्ता कार्य विभिन्न स्थानमा भइरहेकोले यसप्रति नेपाल सरकारको अविलम्ब ध्यानाकर्षण होस् भनिएको छ ।
उहाँले विज्ञप्तीमा यस प्रकारका नेपालको हितविरुद्धका गतिविधिहरुलाई भारत सरकारले अबिलम्ब रोक्नुपर्ने बताउँदै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र नेपालको भूमि रक्षार्थ सबै नेपालीहरु एकजुट भएर अगाडि बढ्न सबैमा अनुरोध गर्नु भएको छ ।
