भैरहवा, १९ जेठ । नेपालमा बन्दाबन्दी (लकडाउन) भएको ७० दिन पुरा भएको छ । अर्थात ७० दिन देखि नेपालका अधिकांश उद्योग मात्र हैन विकास निर्माणका कार्य पनि ठप्प रहेका छन् । यस्तो अवस्थामा पनि रुपन्देहीको रोहिणी गाउँपालिकामा बिभिन्न बिकास निर्माणका कार्यहरु सुचारु रहेका छन् ।
रोहिणी गाउँपालिकामा पक्कि बाटो निर्माण देखि, सिंचाई परियोजना र अन्य विकास निर्माण कार्यहरुले निरन्तरता पाएका छन् । बन्दाबन्दीको समयमा अधिकांश कार्यालयका कर्मचारीहरु घर बसिरहेको अवस्थामा रोहिणी गाउँपालिकाका कर्मचारीहरु अहिले स्थलगत कार्यमा ब्यस्त छन् । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा गाउँपालिकाका कर्मचारी मात्र हैन जनप्रतिनिधि पनि सक्रिय रहेका छन् ।
बन्दाबन्दीको समयमा ठूलो मानिएका योजनाहरुलाई सम्पन्न गर्ने मनसायमा गाउँपालिका रहेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । उहांले अहिले पक्की बाटो, पिसिसी बाटो लगायतका कामहरुलाई निरन्तरता दिईएको र यो आर्थिक बर्षमा कम्तिमा ५० प्रतिशत पूंजिगत बजेट खर्च गर्ने योजना रहेको बताउनु भयो ।
अहिले रोहिणी गाउँपालिकामा दर्जन बढी पिसिसि सडक, ६ पक्की सडक र सिंचाई योजनाका काम धमाधम भई रहेका छन् । यस अघि नै उपभोक्ता समिति गठन भई लागत अनुमान समेत भई सकेका योजनाहरु र टेण्डर प्रक्रियामा गएका योजनाहरुलाई अगाडी बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
“यो परिस्थितिमा सत प्रतिशत काम गर्छौ भन्ने अवस्था छैन तर जति सकिन्छ त्यति काम गरेका छौं ।” न्यौपानेले भन्नुभयो ।
रोहिणी गाउँपालिका अध्यक्ष यादव अहिले आफै अनुगमन गरि कामको गुणस्तर र समयबारे सम्बन्धित पक्षलाई सचेत गराई रहनुभएको छ । उहांले १४ वटा कालोपत्रे सडकको टेण्डर भई ६ वटामा काम पनि भई रहेको जानकारी दिनुभयो । कोरोना महामारीलाई हेर्दै सामाजिक दुरी कायम गरेर कामहरु अगाडी बढाईएको उहांले वताउनु भयो । रोहिणी गाउँपालिकामा पनि कोरोना संक्रमितहरु देखिएको कारण सावधानी अपनाएर कामहरु भई रहेको उहांले वताउनु भयो ।
कोरोना महामारी छिट्टै निर्मुल हुने अवस्था नरहेकाले कोरोनाकै बिचमा रहेर यसबाट जोगिदै आफ्ना कामहरुलाई निरन्तरता दिनु पर्ने आवश्यक्ता रहेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताउनु भयो ।