बुटवल, १५ जेठ । देशका विभिन्न भागमा घटेका जातीय विभेद र हिंसाका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको घटनाको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा बिहिबार विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन गरिएको छ ।
बुटवल राजमार्ग चौराहमा गरिएको प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्दै रुकुम घटना जातीय विभेदका आधारमा भएको जघन्य अपराध भएकाले यसको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनामा चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै शान्ति समाजले घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न जोड दिँदै आएको छ ।
दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको अवस्थामा रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु माथी कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको जिल्ला सभापति डीपी खनालले बताउनु भयो ।
