बुटवल, १५ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी नेपाली नागरिक वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहांले लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पोख्रेलले शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको उल्लेख गर्दै शुभकामना सन्देशमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको उल्लेख गर्नुभएको छ ।
‘गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले आफ्नो शुभकामना सन्देशमा वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्छ भन्नुभएको छ ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका छौं भन्दै सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने उल्लेख छ ।
समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा प्रदेश सरकार अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको वताउनु भएको छ ।
मुख्यमन्त्री पोख्रेलले नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको उल्लेख गर्दै नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन गरिएको उल्लेख गर्नुभएको छ ।
‘यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ ।
प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालन गरेको, जिल्ला—जिल्लामा आइसोलेसन केन्द्र बनाएर सञ्चालन गरिएको, कतिपय जिल्लामा आइसोलेन बनाईदै गरिएको, पालिकाहरुमा आवश्यकता अनुसार क्वारेन्टाइन स्थापना गरिएका, तीनवटा प्रयोगशाला सञ्चालन रहेका, प्रयोगशालाको परिक्षण क्षमता विस्तार गर्दै कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढ्नका लागि प्रदेश सरकारले पालिका र सुरक्षा निकायलाई बजेट पठाइसकेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
