बुटवल, १४ जेठ । पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय बिबाहको बिषयलाई लिएर दलित युवक सहित चारजनाको हत्या भएको भन्दै बुधबार बुटवलमा प्रदर्शन गरिएको छ ।
स्वतस्फूर्त रुपमा दलित अगुवा, मानवअधिकारकर्मी तथा अन्य नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहित चारजनाको हत्या गरिएको घटनाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको हो ।
बुटवलको पुष्पलाल पार्कमा भेला भएका उनीहरुले रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय आधारमा हत्या कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, हामी कहिलेसम्म मौन वस्ने ? जवाफदेही को ? लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा करिव १ सय मिटरको क्षेत्रसम्म सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै पूर्व सांसद तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीय विभेदका आधारमा भएको दक्षिण एसियाकै ठूलो जघन्य अपराध भन्दै यसको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो । उहांले अब अन्याय सहन नसक्ने बताउदै दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिए कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तोडेर दलितहरु सडकमा उत्रिने चेतावनी दिनुभयो । रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनीतिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उहांले वताउनु भयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुमको चौरजहारीमा भएको घटना मानवता विरुद्धको त्र्रmुर अपराध भएकाले दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म यो घटना नसेलाउने वताउनु भयो ।
दलित अभियन्ता तथा समाजवादी पार्टीका नेतथा नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउदासम्म निरन्तर आन्दोलन गर्ने वताउनु भयो ।
जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी किशोरीलाई विहे गर्न १९ जना सहित जाँदा सोती गाउँका स्थानीयले आक्रमण गरेका थिए । स्थानीयको आक्रमणबाट बच्न भेरी नदिमा हामफाल्दा चारजनाको मृत्यु भएको छ । दुईजना अझै वेपत्ता रहेका छन् ।
नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र चौरहजारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको छ भने भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय सञ्जु (सन्दिप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता रहेका छन् ।