काठमाडौं, ८ जेठ । अपाङ्गता भएका र एकल महिलालाई दिईदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने सरकारको निर्णयप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
सरकारले अतिअशक्त, अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनीका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने निर्णय गरेपछि काँगे्रसले निर्णयप्रति आपत्ति जनाउदै भत्ता नरोक्न माग गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनुपर्ने छैन भन्ने नेपालको संविधानमा प्रावधान रहेकाले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरित भएको बताउनु भएको छ ।
‘कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त, अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो ।’ विज्ञप्तिमा भनिएको छ । नेता खाँणले विज्ञप्ति मार्फत सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्व सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ भन्नुभएको छ ।
