अत्यावश्यक वाहेकका सामान आयात रोक्न माग
बुटवल,४ जेठ । कोरोना संक्रमण भित्रिन नदिन नेपालमा सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिता प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । लकडाउनको समयमा पनि भारतका विभिन्न ठाउंबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चार सय देखि पांच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुंदै नेपाल आउने गरेका छन् ।
नेपाल प्रवेश गर्ने उनीहरुको भन्सार विन्दुमा राम्रोसंग स्वास्थ्य चेकजांच नहुने र नेपालका विभिन्न जिल्लामा समुदायसम्म पुग्ने भएकाले कोरोना संक्रमणको डर भएकाले उनीहरुलाई हेल्थ सर्टिफिकेट अनिवार्य गर्न र सीमामा स्वास्थ्य जांच विश्वसनीय ढंगले गर्न समाजवादी पार्टीले माग गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ, औषधि सहित नेपालमा उपलब्ध नहुने सामान वाहेक अन्य सामान लकडाउन अवधिभर आयात रोक्न पनि माग गरेका छन् । भारतीय चालक र सहचालकले ट्रक र कन्टेनरमा यात्रु समेत बोक्ने गरेकाले कोरोना संक्रमणको जोखिम रहेको औंल्याउंदै समाजवादीले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेको छ । ‘अहिलेको, अवस्थामा अत्यावश्यक बस्तु बाहेक सामान्य अवस्थामा जस्तै निर्वाध अन्य सामाग्रीहरूको आयात तत्काल रोक्न माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘भारतीय मालवाहक ट्रक र कन्टेनरलाई पनि भन्सार गेटमै पुर्णरुपमा सेनेटाइज गरिनुपर्छ ।’
रुपन्देहीको बेथरीमा दुईदिन अघि स्थानीयले भारतीय ट्रक र कन्टेनर नचलाउन माग गर्दै रोकेका थिए । तर प्रहरीले बल प्रयोग गरी स्थानीयलाई नै कुटपिट गरी चलाउन दिएको स्थानीयको आरोप छ ।