बाबुराम खत्री
विषय प्रवेश
बिश्वको इतिहासलाई हेर्दा बिश्वमा बेलाबखत ठुलाठुला परिवर्तन भएका छन् । ति परिवर्तनका पछाडी त्यतिनै महत्वपुर्ण घटना जिम्मेवार रहेको पाइन्छ । चाहे त्यो दोश्रो बिश्वयुद्ध पछाडी अमेरिका बेलायतको उदय किन नहोस । यहां चर्चा गर्न खोजिएको बिषय हाल बिश्वमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को माहामारी र यसले बर्तमान बिश्वको संरचनामा ल्याउने बिभिन्न खालको परिवर्तन हो । यो महामारी बाट आज आफुलाइ महाशक्ति भनाउदा शाक्तिशाली राष्ट्र र आफुलाइ उदयमान शक्तिका रुपमा दाबी गर्ने राष्ट्र कोहि पनि यो महामारी बाट जोगिन सकेको देखिदैन । यसकारण अब एक पटक शक्तिशाली राष्ट्रको परिभाषा पनि पुनः परिभाषित हुने अबस्था आएको होकि जस्तो आभास हुन थालेको छ । अतः यस खालको माहामारीले बिश्वमा निम्न क्षेत्रमा परिवर्तन ल्याउन सक्ने देखिन्छ ।
राजनैतिक परिवर्तन
कोरोना महामारीका कारण बिश्वको हालको शक्ति सन्तुलनमा पनि फेरबदल आउन सक्ने देखिन्छ । यो समयमा कतिपय राष्ट्रमा जनताको आक्रोस उच्च हुदै गैरहेको छ । अर्कोतर्फ राजनैतिक नेतृत्व संग सिमित साधन र श्रोतका कारण आकस्मिकरुपमा आइपर्ने यस्ता बिपत्तीको पूर्व तयारीको अभाबमा तत्काल ब्यबस्थापन गर्न कठिन भैराखेको छ । यस्तो अवस्थामा फरक राजनैतिक शक्तिले सो आवाजलाइ आफ्नो आवाज बनाउने अवस्था श्रृजना हुनसक्दछ र यस्तै परिस्थिति रहे सत्ता परिवर्तन हुने अबस्थासम्म नपुग्ला भन्न सकिदैन ।
यसरी आन्तरिक शक्ति सन्तुलनमा जसरी फेरबदल हुन सक्ने सम्भावना रहन्छ त्यसै गरी बाह्य शक्ति सन्तुलनमा पनि परिवर्तन हुन सक्दछ । सोभियत संघको बिघटन पछि बिश्वमा रहेको शित युद्धको अन्त भएको अबस्थामा पुनः नयाँ शक्ति समिकरण तयार हुन सक्ने देखिन्छ । आपतमा सहयोग गर्ने आफन्त निश्चित रुपमा नजिकमा हुन्छ भने यस्तो समयमा सहयोग गर्न नसक्ने आफन्त टाढा हुन सक्ने अबस्था रहन सक्दछ । जसको कारण बिश्वमा नयाँ समिकरण जन्मिन सक्ने कुरालाइ नकार्न सकिदैन ।
सामाजिक परिवर्तन
यो महामारीले जसरी राजनैतिक क्षेत्रमा प्रभाब पार्न सक्ने देखिन्छ, त्यसैगरि समाजको बिद्यमान संरचना एवं सोचमा समेत परिवर्तन ल्याउन सक्ने देखिन्छ । हिजो समाजमा मानिसहरु शहर केन्द्रित, घना बस्तिलाई र भौतिक सुख सुबिधालाई आफ्नो पहिलो रोजाइ ठान्दथे भने यस महामारी पश्चात यस प्रकारको सोचाईमा परिवर्तन आउने निश्चित प्राय देखिन्छ । अबको रोजाइ भनेको अलि फराकिलो स्थान तथा प्रकृति संग द्वन्द गरेर होइन सहकार्य गरेर अगाडी बढ्न पर्दछ भन्ने सोंच आउन सक्ने देखिन्छ । यस समयमा बिभिन्न देशमा एक अर्को देश बाट बैदेशिक रोजगारीमा जाने युवाहरुको साेंचमा पनि परिवर्तन आउन सक्ने देखिन्छ । आफ्ना छोराछोरी बिदेशिनुमा गर्ब गर्ने बाबुआमाको सोचमा समेत यो महामारीबाट परिवर्तन आउने निश्चित छ । अर्कोतर्फ यस प्रकारको एकअर्का देशमा जाने असुरक्षित आप्रवासनले मुलुकले भोग्नु परेको गम्भिर समस्यालाइ बिचार गर्ने हो भने आगामी दिनमा बैदेशिक यात्रा पनि त्यति सहज हुन सक्ने देखिदैन । त्यसलाई पुष्टि गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको आप्रवासन सम्बन्धि नीतिले नै प्रष्ट पारेको पाइन्छ ।
आर्थिक परिवर्तन
सामान्यतया अर्थतन्त्रमा प्रभाव पार्ने तत्व आर्थिक नै हुने गर्दछ, तर केहि बिशेष परिस्थितिमा गैह्रआर्थिक गतिबिधिले पनि ठुलो प्रभाब पार्न सक्दछ भन्ने तथ्यलाई यो महामारीले पुष्टि गरेको छ । यो महामारी बाट सबै भन्दा बढी प्रभावित भएको क्षेत्र भनेको नै आर्थिक क्षेत्र हो । यसको प्रभावले बिश्वमा हाल रहेको शक्ति सम्पन्न राष्ट्रको आर्थिक अवस्थामा ठुलो परिवर्तन अथवा उत्तार चढाव आउन सक्ने देखिन्छ । बिश्व बैंकको पछिल्लो प्रतिबेदनले पनि अमेरिका, बेलायत, फ्रान्स, जर्मन जस्ता बिकसित देशको यो बर्षको आर्थिक बृद्धिदर ऋणात्मक हुने अनुमान गरेको छ । त्यसैगरी चीन जस्तो तिब्र आर्थिक बिकास गरेको देशको पनि यो बर्ष बिगत तिन दशक भन्दा अगाडीको अवस्था अथवा २ देखि ३ प्रतिशतमा आर्थिक बृद्धि झर्ने अनुमान गरिएको छ । त्यसैगरी भारत जस्तो नवउदयमान राष्ट्रको हालत चिनको भन्दा पनि नाजुक हुन जाने अबस्थाको प्रक्षेपण गरेको छ । अथवा भारतको आर्थिक बृद्धि दर २ प्रतिशतको हाराहारीमा सिमित हुन सक्ने देखाएको छ ।
त्यसै गरि गरिब, अबिकसित तथा अल्पबिकसित मुलुकको हालत के हुन सक्ला त्यसको अनुमान गर्न पनि कठिन हुन सक्दछ । नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएको कुल ग्राहस्थ्य उत्पादनको २९ प्रतिशत भन्दा बढी बैदेशिक रोजगारीमा निर्भर रहने मुलुकमा अबको बैदेशिक गन्तब्य त्यति सहज नहुदा पार्ने प्रभाब कति भयावह होला अनुमान गर्न पनि कठिन हुन सक्दछ ।
अन्तमाः पृथ्वीमा मानिस मात्र त्यस्तो प्राणी हो जसले जतिसुकै कठिन चुनौति पनि समाधान गर्न सक्दछ । यी भन्दा डरलाग्दा र भयावह किसिमका महामारी बाट समेत बिश्वलाइ बचाएको अनुभव छ । बिश्वका एकसे एक दिग्गज बिद्वानहरु यसको रोकथामको लागि रातदिन लागिपरेको अवस्थामा आत्तिई हाल्नुपर्ने एवं भयभित भै हाल्नु पर्ने अबस्था भने होइन । यस समयमा मानव जातिले गर्नुपर्ने काम तथा जिम्मेवारी भनेको भयभित नहुने तथा संयमता कायम राख्नु नै हो । समस्या त मानव जीवनमा आइरहने नियमित प्रकिया नै हो मानिस हुनुुको नाताले यसलाइ परास्त गर्न सक्ने सामथ्र्य राख्न सक्नु पर्दछ ।