बुटवल, ८ बैशाख । लकडाउनबाट प्रभावित पत्रकारहरुको लागि सहयोग गर्ने उद्देश्यले बुटवलका अग्रज पत्रकार बालकृष्ण चापागार्इँले स्थापना गरेको ‘लकडाउन प्रभावित पत्रकार कल्याण कोष’मा सहयोग जुट्न थालेको छ ।
अग्रज पत्रकार चापागाईँले आइतबार २५ हजारको कोष स्थापना गरेको घोषणा गरे लगत्तै ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुुसालले १० हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो । लकडाउनका कारण रुपन्देहीका अधिकांश दैनिक र साप्ताहिक पत्रिकाहरु बन्द भएका, अन्य सञ्चार माध्यम पनि लकडाउनको असरका कारण पुर्ववत सञ्चालन हुन नसकेकाले श्रमजीवी पत्रकारहरु समस्यामा परेको भन्दै चापागाईले कोष स्थापना गर्नुभएको हो ।
लामो समयदेखि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै आउनुभएका भुुसालले पत्रकारका लागि स्थापित कोषमा केहि सहयोग गरौं भन्ने मनले सहयोग गरेको बताउनुभयो ।
‘डेरामा बसेका, सञ्चार संस्थाबाट तलब नपाएका, कुनै कारणवश हालै मात्र जागिर छाडेर बसेका र अन्य कुनै आय स्रोत नभएका पत्रकारलाई राहत प्रदान गर्ने भनी स्थापना गरिएको कोषमा ग्लोबल आवाजको साथ सकारात्मक भएको चापागाइँले बताउनु भयो । कैयौं पत्रकारहरु समस्यामा परेर पनि कसैलाई भन्न सक्ने अवस्थामा नभएकाले अभिभावकको नाताले पहल लिएको चापागाइँले बताउनु भयो ।
कोषमा सहयोग गर्न समाजसेवीहरुसँग अपील गरिने र वास्तविक समस्यामा परेका पत्रकारहरुलाई राहत दिइने चापागार्इँले स्पष्ट पार्नुभयो ।