बुटवल, २ बैशाख । नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले सरकारमा बसेका मान्छेहरुले काम गर्न नसकेको र धरैको बदमासी मात्र देखिएकोले उनीहरुलाई कारवाही गरी जनताको विश्वास जित्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफुले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने कुरामा बचनबद्ध रहेकाले बदमासीका विषयमा प्रधानमन्त्री होसियार हुनुपर्ने र प्रधाननमन्त्रीका वरिपरि बस्नेहरुले पनि विचार पुर्याउनुपर्नेमा नेता भण्डारीले जोड दिनुभएको छ ।
कोरोना भाइरस विरुद्ध सरकारले चालेको हरेक कदमप्रति नेपाली काँग्रेसको कुनै प्रतिक्रिया नरहेको भन्दै काँग्रेसका केन्द्रीय सदस्य डा. भण्डारीले यस्तो समयमा बदमासी गर्नेहरुलाई कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा आज (सोमबार) विहान कुरागर्दै डा. भण्डारीले सरकारले गर्ने सवै राम्रा कामको काँग्रेसले खुलेर समर्थन गर्ने भन्दै यस्तो बेला सवै भन्दा सचेत र सक्रिय रहन सरकारलाई सुझाव दिनुभयो ।
कोरोनाले कुनै पार्टी, जाती र ठूलो सानो देश नभन्ने भएकाले सरकारले आफ्नो जिम्मेवारीलाई बढाएर आवस्यक सामानको व्यवस्थापन गर्नुपर्नेमा नेता भण्डारीले जोड दिनुभयो ।
औषधी खरिद जस्ता विषयमा सरकारले अनियमिता नगरोस र गर्ने माथि कारवाही होस भन्ने काँग्रेसको चाहना रहेको भन्दै नेता भण्डारीले सुरुका केही तयारीमा सरकार चुकेको टिप्पणि गर्नुभयो ।
‘प्रधानमन्त्री विरामी अवस्थामा समेत सक्रिय भएर लाग्नुभएको छ । प्रधानमन्त्रीको क्रियाशिलता अरुको भन्दा बढी छ । तर यसरी सक्रिय भएर लागेका बेलामा पनि प्रधानमन्त्रीले भ्रष्टाचारीलाई किन हटाउन नसक्नुभएको, भ्रष्टाचारको महारोगमाथि किन प्रहार गर्न नसक्नुभएको ?’ नेता भण्डारीले प्रश्न गर्नुभयो ।
नेता भण्डारीले खेती गर्ने किसानलाई राहत, घरपालुवा जनवरका लागि छुट्टै प्याकेज तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका रकम घोषणा गर्न सरकारलाई सुझाव दिनुभएको छ । यस्तो बेलामा प्रधानमन्त्री लगायत सबै राजनैतिक दलका नेताहरुले बुद्धिमत्तापुर्वक राम्रो काम गर्नुपर्नेमा नेता भण्डारीले जोड दिनुभएको छ ।