रामकुमार श्रेष्ठ
नवलपरासी, २९ चैत । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् ।
नवलपुरमा अहिलेसम्म ८२ जना क्वारेन्टाइनमा बसेका मध्ये ६६ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।
१६ जना क्वारेन्टाइनमा
अहिले नवलपुर जिल्लामा १६ जना क्वारेन्टाइनमा रहेका छन् । चापागाईका अनुसार केही दिन अघि काठमाडौंबाट पैदल हुप्सेकोट गाउँपालिका आएका १३ जना क्वारेन्टाइनमा रहेका छन् भने देवचुली नगरपालिकामा ३ जना गरी १६ जना क्वारेन्टाइनमा रहेका छन् ।
नवलपुरमा ८ सय ६० जना आए विदेशबाट
नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार फाल्गुन यता भारत लगायत विभिन्न देशबाट आएका ८६० जना रहेका छन् । ति मध्ये ८२ जना क्वारेन्टाइनमा बसेर ६६ जना घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार बिदेश तथा भारतबाट नवलपुर आएका अधिकांशको १४ दिन कटिसकेको छ । चैत १५ गते यता नवलपुर आएका २१ जना रहेका छन् । ति मध्ये ३ जना अझै पनि क्वारेन्टाइनमा छन् भने अरु होम क्वारेन्टाइनमा स्थानीय तहको उच्च निगरानीमा रहेका छन् ।
शंकास्पद २० जनाको कोरोना परीक्षण नेगेटिभ
नवलपुरमा अहिलेसम्म कोरोना संक्रमित आशंकामा २० जनाको स्वाव परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।
भारत लगायत विदेशबाट आएका र उनीहरुको सम्पर्कमा आएका गरी २० जनाको परीक्षण गरिएको हो । ति मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ ।