कमल चौधरी
राजमार्ग सुनसान छ, दिनको मध्यान्नको समय छ । एउटा एम्वुलेन्स चालक पानी वेच्दै गरेको स्थानमा टक्क अडिन्छ । साहुजी पानी दिनुहोस् न, थकित अनुहार, आँखामा थकान झल्काउदै चालक पानी मागिरहन्छ । पसलेले हेर्छ तर पानी दिउँकी नदिउँ असमञ्जसमा परिरहन्छ । पुनः चालकले पानी दिनुहोस् न पिलिज, आवाज दिन्छ । यस पटक पसलेले टाढैवाट पानीको वोतल गाडी भित्र फालिदिन्छ । यो त सानो प्रतिनिधि घटना मात्र हो । एम्वुलेन्स चालक दिन र रात नभनी विरामीको सेवामा खटिनु पर्ने अवस्थामा पनि उनीहरुले न त खाने ठाउँ पाउछन्, न त सुत्ने ठाउँनै पाउछन् । यो पिडा हो एम्वुलेन्स चालक विष्णु भट्टराईको ।
रात दिन, घामपानी नभनि आफ्नो जीवन दाउमा राखेर विरामीको सेवा गर्दै आईरहेका एम्बुलेन्स चालकहरु पछिल्लो समय ठुलो पिडा सहनुपरेको बताउँछन् । एम्वुलेन्स चालक तथा संयुक्त एम्वुलेन्स चालक संघका केन्द्रिय सदस्य विष्णु भट्टराई भन्छन्– ‘चालकहरु भनेका विरामीहरुको सच्चा साथी हुन् । जति असहज अवस्थामा पनि सेवा दिन तत्पर रहन्छन् । न रात, न दिन, न चिसो, न गर्मी, वाह्रैमासे सेवाका लागि फोनको घण्टी सगैं तुरुन्त सेवामा हाजिर हुने एम्बुलेन्स चालकहरुको चरित्र र दिनचर्या हो । तर अहिले कोरोनाको माहामारी सगैं निकै अपहेलित हुनु परेको महसुस भएको छ । घर परिवार, ईस्टमित्र, छरछिमेक र सर्वसाधारणले हेर्ने दृष्टिकोण फरक रहेको छ ।’
क्पिलवस्तु बाणगँगा नगरपालिका वडा नं. ८ लौगाई निवासी विष्णु भट्टाराईले विगत ७ बर्ष देखि एम्बुलेन्स चलाउँदै आएका छन् । समयमा खाना छैन, समयमा सुत्नु छैन, त्यसमाथि हामी संग सुरक्षित उपकरण नहुँदा झनै त्रसित छौं र पनि सेवाका लागि हरपल तयार छौं, अझ त्यसमा विरामीलाई अस्पतालहरुले भर्ना नलिदा भने साह्रै पिडा हुने गरेको अनुभव छ उनीसंग ।
बुटवलको मेडिटेक अस्पतालका एम्बुलेन्स चालक बुटवल उपमहानगरपालिका–७ दिपनगर निवासी राजु गुरुङ्गको पीडा पनि उस्तै छ । उनले भने– ‘विरामी संग रात दिन सम्पर्कमा रहेर काम गर्नुपर्ने बाध्यता छ । कोरोना भाइरसको यस्तो महामारीका बेला हाम्रोे सुरक्षाका लागि राज्यले कुनै सुरक्षाको सामाग्री उपलब्ध गराएको छैन ।’
‘सुरक्षाका समाग्रीहरु न अस्पताले दिएको छ, न राज्यले नै हामी चालकहरुको पीडा कस्ले बुझिदिन्छ ।’ उनले भने । पछिल्लो समय ज्वरोका विरामी अस्पताले भर्ना लिन नमान्दा चालकहरुले धेरै सास्ती खेप्नु परेको तीतो यर्थाथ सुनाउँछन् एम्बुलेन्स चालक गुरुङ्ग ।
चालक भन्छन्–‘खालि हतियार कहिले सम्म कोरोना संगको युद्ध’
संयुक्त एम्बुलेन्स चालक संघ, नेपालका केन्द्रीय सदस्य समेत रहेका विष्णुप्रसाद भट्टाराई पछिल्लो समय डाक्टरले पनि घर परिवार भन्दा टाढा बस्नु भन्ने सुझाव दिएपछि आफूहरु अझ बढि संकटमा परेको बताउँछन् । आफ्नो जीवन दाउमा राखेर कति दिन खालि हतियार युद्ध लड्ने हो ? थाहा छैन, त्यसैले राज्यले यस विषयमा गम्भिर भएर एम्वुलेन्स चालकहरुको सुरक्षाको लागि विशेष ध्यान दिन जरुरी रहेको भट्टराई बताउछन् ।
अहिले दैनिक ५ देखि ८ पटक बुटवल, भैरहवा र भरतपुर धाउनु परेको छ उनलाई । पछिल्लो समय मौसमी विरामी रुघाखोकी, ज्वरो लगायतका लक्षण भएका बिरामी बढि बोक्ने गरेको उनी बताउँछन् । यस किसिमका विरामीहरुलाई समेत अस्पतालहरुले भर्ना नलिदा झन दुःख खेप्नु परेको उनको दुःखेसो छ । बुटवल र कपिलबस्तुका धेरै अस्पतालहरुले यस किसिमका विरामी भर्ना लिन मान्दैनन् । ‘आजभोली दैनिक कम्तिमा १ सय देखि २ सय सम्म फोन आउँछ । विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देश नै लकडाउन भएको हुनाले बढि फोन आउने गरेको हो ।’ उनी बताउँछन् । बिरामीलाई अस्पतालमा छिटो छरितो पुग्न विरामीका आफन्तले एम्बुलेन्स प्रयोग गर्छन् । तर, हामी चालक भने असुरक्षित कति दिन काम गर्ने हो ? सरकारले हामी चालकका लागि आवश्यक मास्क, स्यानिटाइजर जस्ता सामाग्रीको व्यवस्था तत्काल गर्नुपर्ने उनको माग छ । बिरामीलाई अस्पताल पु¥याउने चालकहरुको सुरक्षामा सरोकारवालहरुको समेत ध्यान जानु आवश्यक छ । चालकहरुलाई सुरक्षाको सामाग्री सरकारले पनि उपलब्ध नगराउने र सहज रुपमा किन्ने बातावरण पनि नहुंदा एम्वुलेन्स चालकहरु निकै ठूलो जोखिममा छन् । यस्तो विषम परिस्थितिमा सेवा बन्द गरेर बस्न पनि नमिल्ने सेवा दिन पनि नसकिने अवस्था सिर्जना भएकाले चालकहरुलाई सुरक्षित तवरले काम गर्ने वातावरणका लागि सरकारले पुरै शरीर ढाक्ने सुरक्षित कपडा पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट) उपलब्ध गराउनुपर्ने माग एम्वुलेन्स चालकहरुको छ ।
‘एम्बुलेन्स चालकहरुको जीवन विमा हुनुपर्ने’
संयुक्त एम्बुलेन्स चालक संघका पूर्व कपिलवस्तु जिल्ला अध्यक्ष समेत रहेको चालक विष्णुप्रसाद भट्टराईले सम्पूर्ण एम्बुलेन्स चालकहरुको जीवन विमा सरकारले गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रो शरिरमा आगो बलिरहेको छ । आगोलाई निभाउने जिम्मा सरकारको हो ।’ उनले भने –‘बलिरहेको शरिरलाई निभाउनको लागि सम्पूर्ण चालकहरुको अनिवार्य रुपमा जीवन विमाका साथै आवश्यक सुरक्षा सामाग्री राज्यले उपलब्ध गराउनु पर्छ ।’
चालकहरुको सुरक्षाका लागि जिल्लाका २८ जना एम्बुलेन्स चालकहरूले जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा सुरक्षित भएर एम्बुलेन्स चलाउन आवश्यक एन्टी ब्याक्टेरियल स्प्रे तथा सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेपनि अहिलेसम्म सरकारी तथा गैह्र सरकारी संस्थाबाट कुनै किसिमको राहत तथा सुरक्षाका सामाग्रीहरु नपाएको चालकहरुको गुनासो छ ।
एम्वुलेन्स चालक भट्टराई र गुरुङ्ग त केवल प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्तै सबै एम्वुलेन्स चालकहरु यतिवेला आफ्नो जीवनलाई दाउमा राखेर विरामीको सेवामा समर्पित छन् । राज्यले विरामीको सहयात्री, मानवताको सेवा गर्ने एम्बुलेन्स चालकहरुलाई यो बेला विशेष ध्यान दिन जरुरी छ ।
हुनत पछिल्लो समय कोरोनाबाट दिनहुँ हजारौंको संख्यामा विश्वमा मानिसहरुले ज्यान गुमाईरहेका छन् । प्रति दिन लाखौंका दरले नयाँ विरामी थपिएका छन् । छिमेकी देश भारतमा पनि उच्च दरले कोरोना रोगको संक्रमण देखिन थालेको छ । नेपालमा पनि कोरोना भाइरसले महामारीको रुप लिने हो कि भन्ने त्रास फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमित पुष्टि भईसकेकाको संख्या ९ पुगेको छ । कोरोना भाइरसको उच्च जोखिमवाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले यही चैत ११ गतेदेखि देशलाई पूर्णरुपले लकडाउन गरेको छ । लकडाउनको समय तेस्रो पटक बढाएर बैशाख ३ सम्म पुर्याइएको छ । लकडाउनकै कारण लामो तथा छोटो दूरीका गाडी चल्न छाडेका छन् । तर, यो विषम परिस्थितिका बेला जोखिम मोलेर एम्बुलेन्स चलाउनुपर्ने चालकहरुको बाध्यता र विवसता छ । यस्तो वेला कोरोनाको संक्रमणलाई रोक्न र सबैलाई बचाउन सबैभन्दा पहिला एम्वुलेन्स चालकहरुको सुरक्षामा सरोकारवाला निकाय र सबैको ध्यान जान जरुरी छ । अन्यथा पछुताउनु शिवाय केही बच्ने छैन ।