बुटवल, १८ चैत । बिश्वव्यापिरुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले ५ नं. प्रदेशका मुख्यमन्त्रीलाई रु पाँच लाख प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कारोना राहत कोषका लागि सहयोग रकम प्रदान गरेको जनाएको छ ।
कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेश मुख्यमन्त्री कार्यालयमै गएर पा“““च लाख रुपैयांको चेक मुख्यमन्त्री पोख्रेललाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै प्रदेश निर्देशक थापाले कृषि बिकास बैंकले लकडाउनको अबधिमा समेत देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरिरहेको मुख्यमन्त्रीलाई जानकारी गराउनु भयो । बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको समेत निर्देशक थापाले जानकारी गराउनु भयो ।
बैंकले यस अघि रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि नाकामा साबुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । यस्तै बैंकले नेपालगंज स्थित रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको छ ।
यसैगरी कृषि बिकास बैंक केन्द्रीय कार्यालयले नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा १ करोड २५ लाख रुपैयां सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय जानकारी गराउनु भयो ।