कमल चौधरी
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व समुदायलाई नै आतंकित वनाइरहेको छ । मानव मानव वीच एक आपसमा तर्सिनु पर्ने अवस्था सिर्जना भएकोछ । नयाँ अनुहार संग अझ वढिनै डराउनु पर्ने अवस्था छ । सरकारले मुलुकलाई लकडाउन गरेको छ, जसका कारण घर परिवार, छरछिमेक, समाज सबैको सम्बन्ध विच्छेद् जस्तो भएको छ । कारोना भाइरसको उच्च जोखिमवाट बच्न र यसको रोकथामका लागि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशलाई ‘लक–डाउन’ गरेपछि यातायातका साधन र हवाई उडान पूर्ण रुपले ठप्प भएका छन्् ।
कोरोना भाइरसको त्रास संगै लक डाउनले आम समुदायमा प्रभाव पारेको छ । यो बेला अन्य वर्ग भन्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने श्रमिक वर्ग सवै भन्दा वढि मारमा परेका छन् । दिनभर मजदुरी गरेर जेनतेन छाक टार्ने वर्ग यतिबेला ठूलो समस्यामा परेका छन् भने उनीहरुको दिनचर्या अझ असहज बन्दै गएको छ । मुलुक लकडाउन भएको र सम्पुर्ण सवारीका साधन ठप्प भएको अवस्थामा दैनिक ज्यालादारीमा इट्टा भट्टामा काम गर्ने श्रमिकहरुलाई भने यो विषम परिस्थितिमा उद्योगीहरुले खाद्यान्नको ब्यवस्थापन गरेर राखेका छन् ।
रोजी रोटीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लावाट इट्टा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण उद्योगमै रहेका छन् । यसरी उद्योगको काममा आएका श्रमिकहरुलाई उद्योगीहरुले आफ्नै पहलमा खाद्यान्नको ब्यवस्थापन गरी उत्पादनको काममा लगाएका छन् । एकातिर कोरोना भाइरसको उच्च जोखिम र अर्कोतिर उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको अभावका विच उद्योगीहरुले श्रमिकहरुको समस्यालाई ध्यानमा राखेर उद्योगहरुमा उच्च सुरक्षा सतर्कता अपनाएर कामदारहरुलाई परिचालन गरिरहेका छन् । यो वर्ष करिव ८ पटकको अप्रत्यासित बे मौषमी वर्षाका चर्को आर्थिक समस्यामा परेका उद्योगीहरुलाई कोरोना भाइरस अर्को बज्रपात बनेर आएको छ । बर्षाका कारण उद्योगको उत्पादनमा भएको नोक्सानीलाई कसरि परिपूर्ति गर्न सकिन्छ भनेर सोचाईमा रहेका उद्योगीहरुमाथि लक डाउनले अर्को समस्या थपेको छ ।

‘लक डाउनले गर्दा न श्रमिकहरुलाई घर पठाउन सक्ने अवस्था रह्यो नत उद्योगमा सहज वातावरणमा काममा लगाउने अवस्था रह्यो’ इट्टा उद्योगीहरुको गुनासो छ । उद्योगीहरु भन्छन्– ‘विभिन्न समस्या, असहज परिस्थिति र चुनौतिका बावजुद हामी हाम्रो दायित्व र कर्तब्य वाट विचलित हुदैनौ । एकातिर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नु छ भने अर्कोतर्फ उद्योगमा कार्यरत श्रमिकहरुलाई खाद्यान्न लगायतको ब्यवस्थापन गर्नु छ ।’ रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका इट्टा उद्योगहरुमा सयौं मजदुरहरु रहेका छन् । यो असहज परिस्थितिमा उद्योगमा कार्यरत मजदुरहरुलाई खाद्यान्न लगायतको ब्यवस्थापन गरेर काममा लगाउनु निकै चुनौतिपुर्ण काम हो । चौतर्फी बजार पसल वन्द हुंदा समेत उद्योगमा कार्यरत मजदुरहरुलाई उद्योगीहरुले कसैको मुख नताकी खाद्यान्न लगायतको ब्यवस्थापन गर्दै आईरहेका छन् । यस अघि वेमौसमी वर्षाका कारण सोचे अनुसारको कमाई गर्न नसकेका श्रमिकहरुले यो बर्षको कमाई पुरा गर्न निरन्तर हात चलाइरहेका छन् भने उद्योगीहरुलाई पनि सुरक्षितरुपमा कामको वातावरण मिलाईदिन आग्रह गरेका छन् । उद्योग भित्रै काम गर्ने भएकाले उनीहरुको कमाउने अवसरलाई ‘लक–डाउन’ले पनि छोएको छैन । उनीहरु यस अघि साहुसंग लिएको ऋण रकम तिर्न र ६÷७ महिना काम गरेको कमाईले बर्षभरीलाई खानाको जोहो गर्ने हिसावले काम गर्दै आईरहेका छन् ।

यस बर्ष बेमौसमी बर्षाका कारण राम्रोसंग काम गर्न नपाएका कामदारहरुलाई साहुसंग लिएको ऋण तिर्न धौ–धौ हुने पक्का छ भने अर्कोतर्फ कोरोना भाइरसका कारण उद्योगीहरुले उद्योगमा कार्यरत कामदारहरुलाई कतिवेलासम्म खाद्यान्न सुविधा उपलब्ध गराउन सक्छन भन्ने अनिश्चित छ । यस्तै अनिश्चितता र अन्यौलताका विच उनीहरुको दैनिकी चलिरहेको छ ।
कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लामा रहेका ईट्टा उद्योगहरुमा ठूलो संख्यामा भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट रोजगारीका लागि कामदारहरु आउने गर्दछन् । अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि मनग्य कमाई गर्ने उद्देश्य सहित उद्योगमा काम गर्न आएका श्रमिकहरुलाई यतिबेला महामारीको रुपमा फैलिएको कोरोना भाइरस, नेपाल सरकारले गरेको ‘लक–डाउन’ र बर्षभरी जोहो गर्ने खानाको चिन्ता भन्दा साँझ विहानको छाक कसरी टार्ने भन्ने चिन्ताले सताउने गरेको छ ।
अहिलेसम्म श्रमिकवर्गका लागि जसोतसो खाद्यान्नको प्रवन्ध मिलाउदै आएपनि अवस्था यस्तै रहे कहिलेसम्म ब्यवस्थापन गर्न सकिन्छ यसै भन्न नसकिने इट्टा उद्योगी विनोद पन्त बताउनु हुन्छ । धेरै जसो ठाउंमा श्रमिकवर्गलाई सरकारी तवरवाट गरिने खाद्यान्नको प्रवन्ध विभिन्न सञ्चारमाध्यम वाट बज्ने सूचना र कागजी निर्णयमा मात्र सिमित छ । यद्यपी कपिलवस्तु बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले नगरपालिका भित्र रहेका ईट्टा उद्योगहरुको स्थलगत अनुगमन गरी उद्योगमा कार्यरत श्रमिकवर्गका लागि खाद्यान्न लगायत सहयोगको प्रवन्ध मिलाउने उद्योगीहरुलाई आश्वासन दिनुभएको छ । यस्तै उहांले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न र कामदारहरुको स्वास्थ्यमा विशेष ध्यान दिन पनि उद्योगीहरुलाई निर्देशन दिनुभएको छ । यसका अलावा उद्योगीहरुले पनि उद्योग भित्र आचारसंहिता, उद्योग परिसर भित्र विभिन्न ठाउंमा साबुन पानीले हात धुने ब्यवस्था, कोरोना भाइरस सम्वन्धि जनचेतनामुलक जानकारी, पोष्टर, पम्पलेट लगायतका माध्यमवाट श्रमिक तथा उनका वालवालिकालाई सूचित गरउंदै आएका छन् ।
यति हुंदा हुदै पनि उद्योगीहरुलाई यस्तै अवस्था रहिरहे खाद्यान्नको आपुर्ति ब्यवस्थापन कसरी गर्ने चिन्ता छ । ईट्टा उद्योगहरुले बार्षिक औसत ६० लाख देखि १ करोड ४० लाख सम्म राज्यलाई कर तिर्छन् । यति ठूलो राजश्व बुझाउने इट्टा उद्योगीको समस्या प्रति राज्य पनि सम्वेदनशिल हुनुपर्दछ । उद्योगमा काम गर्ने श्रमिकहरु खाद्यान्न अभावका कारण भोकै बस्नुपर्ने अवस्था आउन नदिनकालागि तिनै तहका सरकारले बेलैमा सोच्न जरुरी छ ।
श्रमिकलाई दैनिक खानाको चिन्ता

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा–८ स्थित सेभेन स्टार ईट्टा उद्योगमा पथेराको (माटो मुछेर इट्टा वनाउने) काम गर्दै आएका कैलाली बर्दगोरिया–१ निवासी टिकाराम डगौराले लकडाउनले गर्दा आफुहरुलाई दैनिक खानाको जोहो गर्न निकै धौ–धौ भएको प्रतिक्रिया दिए । सो उद्योगमा डगौरासहित उनका छोरा, बुहारी र श्रीमती सहित ४ जनाले पथेराको काम गर्दै आएका छन् । उनीहरुको दैनिकी उद्योग मालिकले गर्ने खाद्यान्न ब्यवस्थापनमा निर्भर रहेको छ ।
त्यस्तै कपिलवस्तुकै हिमाल ईट्टा उद्योगमा कार्यरत कामदार बाणगंगा नगरपालिका वडा नं. ६ मैनहरा निवासी बाबुराम चौधरी पनि डर त्रासका विच काम गर्दै आएको बताउँछन् । कोरोनो रोग संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय राम्रो भएको बताउने चौधरीले आफुहरु पनि उद्योग भित्रै उच्च सतर्ककासाथ काम गर्ने गरेको वताउछन् । आफ्नो समस्याले गर्दा सबै श्रमिकहरुले लकडाउनको पूर्ण पालना गर्दै उद्योग भित्र काम गर्दै आएको बताउने चौधरीले श्रमिकहरुलाई खाद्यान्नको समस्या भए त्यसको ब्यवस्थापनका लागि स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने प्रतिक्रिया दिए ।
जिल्लाकै शुद्धोधन गाउँपालिका–१ शोसा स्थित संमृद्धि ईट्टा उद्योगमा कार्यरत पथेराका नाइके कैलाली बर्दगोरिया गाउँपालिका ५ निवासी तिलक कठरियाले पछिल्लो समय कामदारलाई दैनिक उपभोग्य बस्तुकालागि ठुलो समस्या भोग्नु परेको गुनासो सुनाए । उनले भने–‘हाट बजार पूर्ण रुपले बन्द छ । खानाको लागि जोहो गर्न समस्या छ । कामदारलाई घर पठाउँ यातायातका साधन चलेको छैन । राखौं खानाको समस्या छ ।’ अहिलेसम्म उद्योग मालिक र आफु मिलेर नजिकैको गाउँ तथा किराना पसलहरुबाट खाद्यान्नको जोहो गर्दै आएको भएपनि त्यो खाद्यान्न ३÷४ दिन भन्दा बढि नपुग्ने वताए । यस्तै अवस्था रहिरहे खानाको जोहो गर्न नसकिने भन्दै उनले यस्तो अवस्थामा राज्यले सहज खाद्यान्नको व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ ।
रुपन्देहीको सिद्धार्थ ईट्टा उद्योगका म्यानेजर ईश्वरी वस्तीको प्रतिक्रिया पनि उस्तै छ । कोरोना भाइरसको उच्च जोखिमबाट मजदुरहरुलाई बचाउन र आफुहरु पनि बाच्न उद्योगमा सचेतनाका उपाय अवलम्वन गरिए पनि अवका दिनमा खाद्यान्नको समस्या हुन सक्ने उनले बताए । उद्योग भित्र कोरोना भाइरसको संक्रमण हुन नदिन सवै कामदाहरुलाई सचेत गराउदै कुनै पनि ठाउँमा ३÷४ जना भन्दा वढी कामदारहरुलाई काममा नलगाइएको उनको भनाइ छ । यस्तै उद्योगका मजदुरहरुलाई उद्योग भन्दा बाहिर निस्कन पूर्ण रुपमा बन्देज लगाइएको र वाहिरी मान्छेको प्रवेशलाई पनि पुर्ण प्रतिवन्ध लगाइएको बताउदै म्यानेजर वस्तीले अहिलेसम्म कामदारहरुको लागि आवश्यक दाल, चामल, नुन, तेललगायतका सामान उद्योग स्वयमले व्यवस्थापन गर्दै आएको बताए ।
राज्यको उत्तरदायित्व
कपिलबस्तु कै सेभेन स्टार ईट्टा उद्योगका म्यानेजर तथा गुनासो समितिका संयोजक मनोज चौधरीले निकै समस्याको बाबजुद कामदारहरुलाई नुन, तेल, दाल, चामल र तरकारीको व्यवस्था गर्दै आएको बताए । उनले भने–‘बजार पूर्ण रुपमा सुनसान छ । हाट बजार खुलेका छैन । प्रहरी प्रशासनले बाटोमा निस्कन दिएको छैन ।’ आफु बाचौं र अरुलाई बचाऔं भन्ने उद्देश्यले उद्योग बाहिर कसैलाई पनि निस्कन र बाहिरी मान्छे उद्योगमा छिर्न नदिएको बताए ।
बुद्धभूमि नगरपालिका वडा नं. ८ वडा कार्यलयको सिफारिस र ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको अनुमति लिएर कामदारहरुलाई आवश्यक दैनिक उपभोग्य खाद्यान्न गोरुसिङ्गे, बनगाई देखि दाल, चामल, नुन, तेल लगायत तरकारीहरु ल्याउने गरेको सुनाए । उनले अब २÷३ दिन यस्तै अवस्था रहे उद्योगका श्रमिकहरुलाई दैनिक उपभोग्य खाद्यान्नको व्यवस्था राज्यले गर्नुपर्ने प्रतिक्रिया दिए ।
बुद्धभूमि नगरपालिका–८ स्थित बुद्ध ईट्टा उद्योगका संचालक विनोद पन्तले कामदारहरुलाई पूर्ण सुरक्षित तरिकाले काम गर्ने बतावरण मिलाएको बताउदै उद्योगमा काम गर्ने मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) को बारेमा सचेत गराउदै ठाउँ–ठाउँमा सबुन पानीले हात धुने व्यवस्था संगै प्रत्येक कामदारलाई मास्कको समेत व्यवस्था गरेको जानकारी दिए ।
उनले कामदारलाई लक–डाउनको समयमा घर फर्काउन पनि समस्या भएका कारण सुरक्षित रुपमा उद्योग भित्र वनाइएको आ–आफ्नो बासस्थानमा बसे पनि अव भने साँझ विहानको खानाको समस्या हुन सक्ने बताए । उनले भने–‘लक–डाउन सरुवा रोग कोरोना भाईरसबाट बाँच्न र बचाउन धेरै राम्रो उपाय भएपनि यो धेरै दिन लम्बिएमा उद्योगमा काम गर्ने मजदुरलाई धेरै समस्या हुने हुनाले राज्य यस विषयमा गम्भिर हुन जरुरी छ ।’