बुटवल, १३ चैत । कोरोना भाइरस सँक्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको छ । दिनहुँजसो बिभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो, एफएम बाट प्रकाशित र प्रसारित हुने समाचार तथा विभिन्न सामाजिक सञ्जालहरुमा आउने यस सम्वन्धि विषयवस्तुले सबैलाई चिन्तित बनाएको छ ।
कोरोना भाइरसको सँक्रमण र उच्च जोखिमवाट जोगिन नेपाल सरकारले मुलुकलाई लक डाउन गरेको छ । यतिबेला सबै नागरिक आआफ्ना घर भित्र बसेर रोगको सँक्रमणमा पर्न नपरोस भनेर कामना गरेका छन् । यसको सहज निकास र यसवाट कहिले मुक्ति पाईएला भनेर सबैको ध्यान टेलिभिजन, रेडियो लगायत विभिन्न सञ्चारमाध्यम तर्फ केन्द्रित भएको अवस्था छ ।
विश्वसनीय सञ्चारमाध्यमले भन्दा धेरै मिथ्या समाचार र हल्लाले धेरै मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ ।
यो बेला केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार आफ्ना नागरिकलाई कसरी यसको उच्च जोखिमवाट सुरक्षित राख्न सकिन्छ भनेर क्रियाशिल भैरहेका छन् । यो अभियानमा विभिन्न सामाजिक संघसंस्था र नागरिक स्तरबाट समेत सक्रिय साथ र सहयोग रहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र उच्च जोखिमवाट सर्वसाधारण नागरिकलाई सुरक्षित राख्न बुटवल उपमहानगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पुन सचेतना अभियान र मास्क वितरण अभियानमा जुट्नु भएको छ ।
अध्यक्ष पुनले वडामा गठित टोल विकास संस्थालाई परिचालन गरी प्रत्येक टोलका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि एक हजार थान मास्क वितरण गर्नुभएको छ ।
वडा अध्यक्ष पुनले वडामा कोरोना भाइरस सम्वन्धि सचेतना कार्यक्रम संगै प्रत्येक टोलका अध्यक्षहरु मार्फत टोलका विपन्न नागरिकहरुलाई मास्क वितरणको ब्यवस्था मिलाउनु भएको छ ।
यो अभियानमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष तथा जितगढी स्थित गैरे डिजल्सका संचालक बिशाल गैरेको समेत साथ र सहयोग रहेको अध्यक्ष पुनले बताउनु भयो । स्थानीय निकाय निर्वाचनमा समेत अध्यक्ष पुनलाई विजय गराउन गैरेको सक्रिय साथ रहेको थियो ।
टोल विकास संस्थाका अध्यक्षसहित संस्थाका पदाधिकारी र सदस्यहरुले विपन्न नागरिकलाई मास्क वितरण संगै मास्क लगाउने तरिका, यसको सुरक्षा र ब्यक्तिगत सरसफाईका विषयमा समेत जनकारी गराएका छन् ।
व्डावासीहरुलाई अपरिचित ब्यक्तिको सम्पर्कमा नजान, चिनेकै मान्छे संग पनि हात नमिलाई नमस्कार गर्न, लक डाउनका बेला घर बाहिर ननिस्कन र बाहिर गै हाले घर भित्र पस्नु अघि साबुन पानीले हात धुने लगायतका सल्लाह सुझाव सहित स्वास्थ्य सम्वन्धि विभिद जानकारी गराईएको अध्यक्ष पुनले वताउनु भयो ।