नवलपुर, १४ पुस । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आईतबारराति आगजनी गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।
आईतबारराति अज्ञात समूहले पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. १४ को वडा कार्यालयमा आगजनी गरेको हो । आगलागीबाट कार्यालयमा सामान्य क्षति भएको छ ।
साविक अग्यौली गाविसको कार्यालयमा आगलागी भएको हो । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।
वडाध्यक्ष जीतबहादुर महतोका अनुसार प्रशासन कक्षको झ्यालबाट मोबिल पोखेर आगो लगाउँदा झ्यालमा रहेको पर्दा सल्किएर डष्टबिनसम्म आगो पुगे पनि अरु भने क्षति हुन पाएको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी टोली र कावासोती नगरपालिका प्रमुख चन्दंकुमारी पुन समेतको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेको छ ।
उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पनि आईतबारराति नै आगजनी भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुर स्थित पक्की भवनमा रहेको वडा कार्यालयमा आगजनी हुंदा वडा अध्यक्षको कार्यकक्ष समेत जलेर नष्ट भएको छ । आगलागीबाट कार्यालयको कुर्सी, टेवल, दराज र कागजपत्र पनि जलेर नष्ट भएको छ ।
वडाध्यक्ष सरिता त्रिपाठीका अनुसार दराजमा रहेको ३५ हजार रुपैया समेत लुटिएको र कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर समेत जलेर नष्ट भएको छ । आगजनी किन र कस्ले ग¥यो भन्ने केही खुल्न सकेको छैन । वडा कार्यालयहरुमा भएको आगलागीको जिम्मा कसैले लिएको छैन ।
यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उक्त वडा कार्यालय साविक वसन्तुपर गाविसको कार्यालय रहेको कार्यालय हो ।
स्थानीय र प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगजनी गरेको हुन सक्ने आशंका गरेका छन् । तर सो पार्टीले अलग अलग विज्ञप्ती प्रकाशित गरेर सो घटनामा को कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
नेकपा नवलपुरका सेक्रेटेरी शितल र कपिलवस्तुका सेक्रेटेरी अडानको नामबाट प्रकाशित गरिएका अलग अलग प्रेस बिज्ञप्तिमा दुबै वडा कार्यालयहरुमा भएको आगजनीमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको सुरक्षा निकाय र सम्पूर्ण जनसमुदायहरुमा स्पष्ट पार्न चहान्छौं भनिएको छ ।

