बुटवल, १२ कार्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम रहेको र भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको बताउनु भयो ।
भाई टिकाको शुभ साइतमा दाजू–भाइहरू पश्चिम फर्केर बस्ने र दिदीबहिनीहरू पूर्व तर्फ फर्केर दाजू–भाइहरूलाई टिका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम मानिएको छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
यस्तै यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदैछन् ।
गोबर्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानीपूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्र्धन पूजा परेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ आज बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मङ्गलबार नै गर्ने निर्णय गरिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बिहान प्रतिपदा तिथि हुँदै गोवद्र्धन पूजा गर्न समितिले आह्वान गरेको छ । त्यसपछि भाइटीका लगाउन सकिन्छ ।