अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका २ का २४ बर्षिय दिलिप अधिकारी, दाङ जिल्ला लमही नगरपालिका ५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीय श्याकला खनाल रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ६ जना मध्ये ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते मध्ये अर्घाखाँची भुमिकास्थान नगरपालीका १० धनचौर निवासी १९ बर्षिय सिमा रेग्मी र वहाँको १ बर्षिय छोरा आदित्य रेग्मीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घर फर्केका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
