एकैदिन १५ लाखको कारोवार, सबै स्टलमा सरदर ५० हजारको विक्री
बुटवल, १५ असोज । बुटवल उद्योग बाणिज्य संघले संघ परिसर बुटवल बालमन्दिरमा सञ्चालन गरेको दशैं सस्तो बजारमा बुधबार १५ लाखको कारोवार भएको छ । दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैंयाँका दरले सामान खरिद बिक्री भईरहेको दशैं सस्तो बजार समितिका सदस्य तथा बुटवल उद्योग बाणिज्य संंघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो । उहांका अनुसार बुधबार मात्र ५ हजार उपभोक्ता दशैं बजारमा आए ।
दशैं सस्तो बजारमा विशेषगरी दैनिक उपभोग्य बस्तुमा उपभोक्ताको भिड छ । त्यस्तै नयाँ नोट साट्नकालागि पनि सर्वसाधारणको भिड बढेको छ । नेपाल राष्ट्र बैंकको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । संघले दैनिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाँका दरले २ सय जनालाई नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ भने बुधबार ३ सय जनालाई नयाँ नोट सटही गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सस्तो बजारमा स्टल राखेर सहयोग गरेको छ ।
दशैं सस्तो बजारमा मंगलबारदेखि छपियाको माछा बिक्री वितरण गरिएको छ भने बुधबारदेखि जुम्लाको स्याउ समेत बिक्री वितरण गरिएको छ । त्यस्तै लोकल कुखुरा, टर्की, कुखुराको अण्डा समेत सुलभ मुल्यमा बिक्री वितरण गरिएको छ ।
दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्ले चिनी र नुन, डिडिसीले दुग्धजन्य उत्पादन तथा अन्य स्टलहरु मार्फत तेल, चिया, साबुन, मसला लगायतका दैनिक उपभोग्य बस्तुहरु सुलभ मुल्यमा उपलब्ध गराईएको बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी दिनुभयो । उहाँले दशैं सस्तो बजारमा राखिएका सामग्रीहरु सस्तो मात्रै नभएर गुणस्तरीय पनि भएकाले संघले सञ्चालन गरेको बजारको फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।
यहि असोज १२ गते घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार असोज १७ गतेसम्म सञ्चालन गरिने छ ।