बुटवल, ३० भदौ । नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षमा प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा निर्वाचित हुनुभएको छ ।
बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक प्रा. डा. थापा देशभरका प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उहां अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रजातन्त्रबादी प्रध्यापक संघको महासचिव भैसक्नुभएका बरिष्ठ अधिवक्ता थापा उच्च अदालत वार एकाई बुटवलका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।
लामो समयदेखि प्राध्यापन पेशामा लागेर कुशलतापुर्वक आफ्नो कार्यसम्पादन गर्दै आउनुभएका थापाले आफु अध्यक्षमा निर्विरोध निर्वाचित भैसकेपछि देशभरीका प्राध्यापकहरुले जुन विश्वास र सदभाव दर्शाएका छन् त्यो विश्वासलाई विश्वासलाई गुम्न नदिने बताउनु भएको छ । उहांले प्राध्यापकहरुका पेशागत समस्याहरुलाई सरोकारवाला निकायसंग संवाद र सहकार्य गरेर समाधान गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।
नेपालमा विभिन्न १० वटा विश्व विद्यालय अन्तरगत विभिन्न क्याम्पसहरुमा अध्यापनरत २० हजार भन्दा वढि प्राध्यापकहरु छाता संगठन नेपाल प्राध्यापक संघमा आवद्ध रहेका छन् ।
संघका अन्य पदाधिकारी तथा सदस्यहरुको टुंगो भने आगामी कार्तिक २३ गते काठमाडौंमा हुने निर्वाचन प्रक्रियावाट लगाईने निर्वाचन समितिका संयोजक प्रा डा रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । संघमा २० जना सदस्य रहने बैधानिक ब्यवस्था रहेकाले २१ जनाको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट टुंगो लगाउन लागिएको हो ।
