प्रदेश ५ मा १२६ जनामा डेंगु रोगको संक्रमण
बुटवल, २४ भदौ । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको र सयौं जना बिरामी भएर थला पर्दा समेत सरकारी पक्षले यसलाइ सामान्यरुपमा लिदै बिगतका बर्षभन्दा कम प्रभाब भन्दै आएको छ ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले मंगलवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका निमित्त सचिब थानेश्वर ज्ञवालीले डेंगु रोगको अवस्था बाहिर हल्ला पिटिएजस्तो भयावह नरहेको दाबि गर्नुभयो । उहाँले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी दिदै यसका लागि सबैपक्ष जिम्मेबार बन्नुपर्ने बताउनु भयो ।
प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको बताउदै अहिलेसम्म प्रदेश ५ मा १२६ जना डेंगु रोगको बिरामी परेको र ती मध्ये ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो । डेंगुबाट बच्नका लागि पुरा शरिर ढाक्ने कपडा लगाउन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताउनु भयो । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा खनालले जानकारी दिनुभयो । उहाँले ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह, स्वास्थ, खानपान र उपचारपछि ठिक हुने बताउनु भयो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गर्नु भयो । उहाँले बुटवलका १९ वटै वडा, ३०२ टोल र ९५ वटा स्कुलमा डेंगु नष्ट अभियान चलाइएको बताउनु भयो ।
यस्तै मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामीले आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताउनु भयो । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको उहांले जानकारी दिनुभयो । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको टिप्पणि गर्नुभयो । उहाँले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताउनु भयो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको थियो ।