बुटवल, २२ भाद्र
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरजग्गाको कित्ताकाट खुल्ला गरिएको छ । नगरपालिकाले मापदण्ड बनाएर नेपाल अधिराज्यमै पहिलो पटक नगरपालिका भित्र व्यबसायिक रुपमा कम्पनीको नाममा रहेका जग्गामा कित्ताकाट खोलेको हो । सरकारले मुलुकभर विसं २०७४ साउन २६ गतेदेखि नेपाल अधिराज्य भरी अंशबण्डा बाहेकको कित्ताकाट रोकेको थियो ।
पुन सरकारले विसं २०७५ पुसको २७ गते मापदण्ड सहित कित्तिाकाट खोलेको भएपनि कार्यान्वयन भने हुन सकेको थिएन । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार तिलोत्तमा नगरपालिकाले कित्ताकाट खोलेको हो ।
नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार जग्गा कम्पनीको नाममा हुनुपर्ने, कम्तिमा २४ फूटे कालोपत्रे सडक , सडकको दायाँबाँया नाली, खानेपानी, बिजुली हुनुपर्ने र जग्गाको क्षेत्रफलको आधारमा २ देखि ५ प्रतिशतसम्म खुल्ला जग्गा राख्नु पर्ने छ ।
त्यस्तै कित्ताकाट गर्ने कम्पनीको नगरपालिकामा १० कट्ठासम्मको जग्गामा २ लाख, ३० कट्ठा सम्मको जग्गामा ५ लाख र त्यो भन्दा बढी क्षेत्रफलको जग्गामा १० लाख रुपैंया धरौटी जम्मा गरेको हुनुपर्ने जग्गा विश्लेषण समितिका सभापति तथा वडा नं. १३ का अध्यक्ष गणेश न्यौपानेले बताउनु भयो ।
२०७६ बैशाख २६ गते नगरपालिकाको बैठकले वडा अध्यक्ष न्यौपानेको संयोजकत्वमा जग्गाको विश्लेषण समिति बनाएको र सोही समितिले स्थलगत अवलोकन तथा अध्ययन पछि गरेको सिफारिसका आधारमा मापदण्ड निर्धारण गरि गत साउन १९ गतेदेखि नगरपालिकाले कित्ताकाट गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले निर्णय गरेपछि पहिलो पटक दुर्गालक्ष्मी रियलस्टेट प्रालिले वडा नं. १२ मा यहि भदौ १९ गते कित्ता काट गरेको रुपन्देही घरजग्गा व्यबसायी संघले आईतबार तिलोत्तमाको डाईभरटोलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पत्रकार सम्मेलनमा रुपन्देही घरजग्गा व्यबसायी संघका अध्यक्ष दशरथ पौडेलले नगरपालिकाले कम्पनीलाई कित्ताकाट फुकुवा गरेर राम्रो काम गरेपनि अझै पूर्ण भने नभएको बताउनु भयो । उहाँले नगरपालिकाले व्यक्तिगत जग्गामा समेत कित्ताकाट फूकुवा हुनुपर्ने माग गर्नुभयो । नगरपालिकाले १३४ सडक सञ्जालको आधारमा १७ वटै वडामा कृषि, बसोबास र औद्योगिक क्षेत्र छुट्याएर कित्ताकाटको मापदण्ड बनाएको संघका सदस्य रमेश दुमे्रले बताउनु भयोे ।