बुटवल । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा नेपाली काँग्रेसले रुपन्देहीमा विविध कार्यक्रम गरेको छ ।
४३ औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार नेपाली काँग्रेसले रुपन्देहीमा बृक्षरोपण, बीपीको शालिकमा माल्यार्पण तथा अनाथ सहयोगापेक्षीलाई खाना खुवाएको छ ।
नेपाली काँग्रेस रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित करहिया सामुदायिक बनमा बृक्षरोपण गरिएको छ । उक्त बनमा टिक लगायत विभिन्न प्रजाती तथा बनस्पतीका ५ सय बिरुवा रोपिएको छ । बीपी स्मृति दिवसमा हरेक वर्ष नेपाली काँग्रेसले जिल्लामा बृक्षरोपण कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अब्दुल रज्जाक र गंगा शाहीले बीपीले बोकेका बिचार, सिद्धान्त र आदर्श पार्टीका लागि मात्रै नभएर सिंगो समाजका लागि समय सान्दर्भिक र अनुकरणीय रहेको भनाई राख्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाणले बोट बिरुवा मानव जीवनका लागि अति उपयोगी हुनुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि पनि बीपीको स्मृतिमा पार्टीले हरेक वर्ष बृक्षरोपण कार्यक्रम गर्दै आएको बताउनु भयो । बन उपभोक्ता समितिले रोपिएका विरुवाको संरक्षण गर्ने गरी व्यवस्थापन मिलाईएको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल,सचिव हरि काफ्ले, कोषाध्यक्ष हरिप्रसाद अर्याल, तिलोत्तमा नगर समितिका सभापति तथा करहिया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हरिलाल पाण्डे लगायतले बोल्दै रोपिएका बिरुवाको संरक्षण गर्नु पर्ने भनाई राख्नुभयो ।
त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको नगर सभापति खेलराज पाण्डेले बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ ले मानव सेवा आश्रममा आश्रीत सहयोगापेक्षीलाई बिहानको खाना खुवाएको छ भने आश्रमका लागि फ्रिज प्रदान गरिएको क्षेत्रीय सभापति सुशिल गुरुङ्ले जानकारी गराउनु भयो ।
त्यस्तैगरी नेपाली काँग्रेस क्षेत्र नं. २ ले आज अपरान्ह बुटवलमा बीपी स्मृति साहित्य साँझ कार्यक्रम अयोजना गरिएको छ । उक्त कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरुले बीपीका बारेमा रचना गरिएका साहित्यिक सिर्जना प्रस्तुत गर्ने क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। हुनुभए उहाँको २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता कोइराला २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो ।
उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । उहाँ प्रधानमन्त्री रहदा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभएको थियो ।
नेपाली साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउनुभएका बीपीलाई साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा पनि स्मरण गरिन्छ ।
विस २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिको आडमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वाचित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो ।