तिलोत्तमा । शिक्षा क्षेत्रको समेत सबलीकरण गर्दै शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्ने नेपाल सरकार लुम्बिनी प्रदेशका मुख्य सचिव बाबुराम अधिकारीले बताउनुभएको छ ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि आयोजित “लोकसेवा आयोग अभिमुखीकरण” कार्यक्रम उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । साथै, क्याम्पस भवनको भौतिक निर्माण सम्पन्न गर्न प्रदेश सरकारको थप सहयोग आवश्यक देखिएको बताउनुभयो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले आजका विद्यार्थी उच्च क्षमतायुक्त बन्दै भोलिको राष्ट्रसेवामा जानका लागि क्याम्पसले वर्षौैँदेखि यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।
क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजनामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको उच्चतम विकाश हुँदा नै समाजले कर्मठ जनशक्ति प्राप्त गर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा स्नातक तहका एकसय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
किण्डरवल्र्ड मण्टेश्वरी स्कूलमा निःशुल्क आँखा शिविर

रूपन्देहीको तिलोत्तमा नगरपालिका शंकरपुरस्थित किण्डरवल्र्ड मण्टेश्वरी स्कूलका विद्यार्थीका लागि निःशुल्क आँखा शिविर आज (सोमबार) सम्पन्न भएको छ । श्रीकृष्ण नेत्रालय बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजित शिविरमा ६७ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारीको आँखा जाँच गरिएको थियो । जाँच गरिएका विद्यार्थीमध्ये ७ जना विद्यार्थीको आँखा थप उपचारको लागि रेफर गरिएको विद्यालयका प्रिन्सिपल सुधा खतिवडा पोख्रेलले जानकारी दिनुभयो ।
श्रीकृष्ण नेत्रालयबाट गएका दृष्टि विशेषज्ञ शुभेक्षा भट्टराई र नेत्र सहायक सुनिता सोमैले आँखाको प्राविधिक जाँच गर्नुभएको थियो । स्कूलका संस्थापक केशव पाठक, अध्यक्ष मुक्तिनाथ गैह्रे, स्कूलका निर्देशक सुवर्णा पाण्डेय, लगायतले विद्यार्थी स्वास्थ्यलाई मध्येनजर गरी शिविर आयोजना गरिएको बताउनुभयो ।