नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले चार वर्षअघि बरामद गरिएको रु. ४० लाख १२ हजार बढीको चिनी नष्ट गरेको छ । चिनी अखाद्य भएको भन्दै आज स्थानीय झरही नदी किनारमा खाडल खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिनुभयो ।
उहांका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याईएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानबाट बरामद गरेको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो ।
यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा ल्याएको रु पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नायब सुब्बा ढुङ्गानाले जानकारी दिनुभयो ।