भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरी पैठारी गर्दै गरेको करिव १२ लाख ६८ हजार ७०० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्मलामण्डीबाट १० बोरा चिनी, पास्ता १ बोरा, बच्चाको खेलाउन, मिठाई १ बोरा र मायादेवी गाउपालिका वडा नं.५ मकरी चोकबाट मिनोक्सीडिल सी फाइनस्टेडि सोलुसन लेखेको कपाल उमार्ने जेल ६८ प्याकेट बरामद गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट विभिन्न कम्पनीको एनरोईड फोनको डिस्पेल २८८ पिस, रियलमी १२ प्रो प्लस २ थान, सामसुङ कम्पनीको ट्याव कम्वोडिस्प्ले ४ थान, एप्पल कम्पनीको आईफोनको डिस्प्ले ८ थान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ६ पर्सियाबाट मर्चवारी गाउँपालिका वडा नं. ३ महाराजगंज बस्ने बर्ष २१ को मुकेश केवटले चलाएको यूपी ५३ एएन ३८४८ नं. को मोटरसाईकलमा ल्याउंदै गरेको ४० के.जी. माछा र केवटलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ रामनगरबाट लु.प्र. ०१–००१ ह ०७२१ र लु १ ह ५०४२ न. का अटो रिक्सा र ४० पेटी टायल बरामद गरेको छ ।
यस्तै अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ४ चाँदनी चोकबाट मायादेवी गाउँपालिका २ बस्ने बर्ष १८ को सिकेन्द्र बानियाले चलाएको लु ६७ प ९०९० न.को मोटरसाईकलमा ल्याउंदै गरेको चना २ बोरा, बदाम १ बोरा, सेम्पु १ कार्टुन, मिठाई १२ प्याकेट मोटरसाइकल सहित बरामद गरेको छ ।
बरामद भएका सामान र पक्राउ परेका मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन कार्यालय वेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।