नवलपुर । बाढीले डाईभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपालले जानकारी दिनुभयो ।
डिएसपी नेपालका अनुसार वर्षाका कारण नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा पानीको वहाब बढेर डाइभर्सन माथिबाट बगेका कारण सवारी साधन रोकिएका हुन् ।
विनयी खोलाको पुल गएको पुसमा भारतीय ट्रकको ठक्करबाट भाँचिएको थियो । पुल भाँचिएयता डाइभर्सन बनाएर सवारी साधन आवतजावत हुँदै आएको छ । गएरातिको वर्षाका कारण बढेको खोला डाइभर्सनमाथिबाट बगेपछि सडक अवरूद्ध भएको हो । पानीको वहाब घटेपछि डाइभर्सन निरीक्षण हुने डिएसपी नेपालले बताउनुभयो ।
डिएसपी नेपालले पश्चिम नवलपरासीको खुर्सानी खोलामा पनि सडक अवरूद्ध भएको जानकारी दिनुभयो । उहांका अनुसार त्यहाँको खहरे खोला बढेर सडक कटान गर्दा बाटो अवरूद्ध भएको हो ।