बुटवल । ७२ लाख ११ हजार तीन सय रूपैयाँ राजस्व छली गरेको अभियोगमा बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले मोटर पार्टसको कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उनका साझेदार जगन्नाथ खनालविरुद्ध उच्च अदालतत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।
उनीहरू सञ्चालक रहेको फर्ममा गाडीका महँगा पार्टसहरू राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्नुकासाथै साना गाडीका महँगा पार्टसको समेत तस्करी गर्ने गरेको राजस्व अनुसन्धान कार्यालयको दाबी छ ।
शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर खनाल र खरेल विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ संशोधनसहितको दफा २०६० बमोजिम मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरुविरुद्ध ७२ लाख ११ हजार तीनसय रुपियाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना सहित एक करोड ४४ लाख २२ हजार छ सय असुलउपर गरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।
विभागका अनुसार प्रतिवादीहरूले सो फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बिजक नै जारी नगरी मालवस्तु बिक्री गरेको, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगरेको, पेस गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदाममा फेला परेको, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नरहेको तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले ७२ लाख ११ हजार तीनसय रुपियाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना सहित एक करोड चवालिस लाख बाइस हजार छ सय असुलउपर गरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।