तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गते भोली देखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज रिमालले बताउनुभयो ।
नगरपालिकाले खेल र खेलाडीहरुको स्वस्थ जीवनको कामना र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बजेट नीति तथा कार्यक्रममै प्रतियोगिता समेटिएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताउनुभयो । नगरका १७ वडा मध्ये १६ वटा वडाले सहभागिता जनाएको सो प्रतियोगितामा वडा नम्बर–१६ ले भने प्रतियोगितामा भाग लिएको छैन ।
नगरपालिकामा आयोजित टाइसिट प्रकाशन कार्यक्रममा प्रतियोगिता बारे जानकारी गराउदै नगर खेलकुद बिकास समितिका सदस्य तथा प्रतियोगीताका संयोजक युवराज रिमालले प्रतियोगिता बिहान बेलुका गरि दैनिक २ वटा खेल हुने जानकारी गराउनुभयो ।
प्रतियोगितामा बिजेताले नगद रु. ७५ हजार र रनिङ्ग शिल्ड तथा मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु. ५० हजार र शिल्ड तथा मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा विधागततर्फ उत्कृस्ट खेलाडी, गोलकिप्पर, मिड पिÞmल्डर, फरवार्ड र कोचलाई समेत नगद रु ५ हजार सहित मेडल प्रदान गरिने छ ।
आयोजकका अनुसार अघिल्लो बर्ष वडा नम्बर–१३ ले उपाधि चुमेको सो प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १२ र १७ का बीच बिहान ७ बजे हुने छ । टाइसिट बितरण कार्यक्रममा तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपाली, जिल्ला फुटबल संघका अर्जुन क्षेत्री हापु, नगर खेलकुद बिकास समितिका सदस्यहरु मनोज केसी, सोभित दर्लामी मगर, मोहन सिंह राना वडाका खेलाडी प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।