बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभाले योग गुरुङलाई अध्यक्ष तथा नवल गुरुङलाई महासचिवको जिम्मेवारी प्रदान गरेको छ ।
मंगलबार बुटवलमा सम्पन्न विशेष साधारणसभाले योगलाई अध्यक्ष र नवललाई महासचिवको जिम्मेवारी प्रदान गरेको हो ।
सधारण सभाको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणध्वज गौतमले उद्घाटन गर्दै खेल क्षेत्रमा बजेट अभाव हुदा पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो । देशको बजेटको कुल रकममध्ये ०.१७ प्रतिशत तथा प्रदेशको कुल बजेटको ०.१६ प्रतिशतमात्र खेलकुदमा रहेकोले चाहेर पनि खेल क्षेत्रको बिकास गर्न नसकिएको उहाले बताउनु भयो ।
नवनियुक्त अध्यक्ष योग गुरुङले भलिबल खेलमा लुम्बिनी प्रदेशको पहिचानलाई कायम राख्ने गरी खेलाडी उत्पादन, प्राविधिक जनशक्ति उत्पादन र खेल गतिविधिलाई जोड दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भिम वलीले नेतृत्वबाट संघको गतिविधि नहुदा विधानको ब्यवस्था अनुसार नै विशेष बैठक गरि विशेष साधारण सभामार्फत नया नेतृत्व चयन भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले संघको विशेष साधारण सभाबाट चयन भएको नेतृत्वबाट खेलकुद कार्यक्रमले गति लिने वातावरण बन्नेमा आशावादी रहेको बताउनुभयो । देशकै भलिबल खेलाडी उत्पादनमा लुम्बिनी प्रदेशको महत्वपुर्ण योगदान रहेको भन्दै यसमा सरकारबाट लगानी जरुरी रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष कृष्णा पाठकले प्रदेश गठनको उद्देश्य अनुसार काम गर्न टिम सफल नहुदा विशेष बैठक गर्ने वातावरण सृजना भएको बैठक बस्नेदेखि कार्ययोजना बनाउने सम्मको काम गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सचिव झक बहादुर मिदुन, केन्द्रिय सदस्य किशोर आचार्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, उपाध्यक्ष रमेश कर्माचार्यले शुभकामना ब्यक्त गर्नुभयो ।