बुटवल । स्वर्ण वर्ष प्रवेशको अवसरमा भूपू सैनिक जबई स्पोर्टिङ्ग क्लब बुटवल रुपन्देहीले आयोजना गरेको आठौं भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१÷२०८२ मा सिम्रिक युवा क्लबले शानदार विजयी शुरुवात गरेको छ ।
भूपू सैनिक बुटवल बेलवास सालघारी समाजको संरक्षकत्व तथा भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा सिम्रिकले झरना स्पोर्टिङ क्लब,कुन्जलापुर तिलोत्तमालाई ६–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
भूपू सैनिक खेलमैदानमा भएको एकतर्फी खेलमा सिम्रिकको जितमा अरुण चौधरी नायक रहे । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । १४ मिनेटमा सुरज चौधरी तथा २४ औं मिनटमा रोशन थापाले गोल गरे । दोस्रो हाफमा अरुण चौधरीले थप २ गोल गरे । खेलको ४४ र ६९ आंै मिनेटमा अरुण चौधरीले गोल गर्दै आफ्नो हयाट्रिक पुरा गरे ।
खेलको ६३ आंै मिनेटमा सुरज चौधरीले गोल थपे । खेलमा अरुण प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
आज मंगलबार आयोजक भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवल बेलवास र चादनी क्लबका बिचमा हुने खेल संयोजक शिव कुमार थापाले जानकारी गराउनुभयो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण पुनले उद्घाटन गर्दै खेल पूर्वाधार निर्माणमा जोड दिने गरी योजना बनाउन जरुरी रहेको बताउनुभयो । बुटवलमा खेल गतिविधीसंगै युवा खेलाडीहरुले प्लेटफर्म पाएको भन्दै अध्यक्ष पुनले पूर्वाधार विकासमा सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने सुझाव राख्नुभयो ।
कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्लबका उपाध्यक्ष खेमानसिंह रानाले खेल विकासमा खेलकुद संघसंस्थाहरुको योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष गोपिराम पुनले सालघारी क्षेत्रमा पर्व र संस्कृतिका रुपमा खेल गतिविधि रहेको बताउनुभयो । यो वर्ष संस्था स्थापनाको ५० औ वर्ष प्रवेश गरेको अवसरमा विविध सास्कृतिक, रक्तदान कार्यक्रमका साथै फुटबल प्रतियोगितालाई निरन्तरता दिन लागेको उहांले बताउनुभयो ।
प्रतियोगिताको विजेता टिमलाई नगद २ लाख २२ हजार २२२ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहांले बताउनुभयो । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा नवलपरासीका दुई र रुपन्देहीका ६ टिमसहित आठ टिमले भाग लिएका छन् । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो । आयोजकका अनुसार प्रतियोगितामा १९ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।