बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मराज खत्रीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खत्रीका अनुसार आज दिउँसो ३ः३३ बजे लु ३६ प ८४४८ नम्बरको मोटरसाईकल चलाएर बुटवल तर्फ जांदै गरेका पाठकलाई बा ०१०३१ च ५००२ नम्बरको ईभी कारले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ईभी र ईभी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।