बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन भएको छ । १२ औं अधिबेशनबाट संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित उपेन्द्र अग्रवाल सहितका पदाधिकारी तथा सदस्यहरुको शुक्रबार पदभारग्रहण कार्यक्रम भएको छ ।
पदभार कार्यक्रममा नवनिर्वाचित नयाँ कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रमाण वितरण, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहरी पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गर्नुभएको थियो ।
अधिबेशनबाट संघको उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरी संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ ।
पदभारग्रहण कार्यक्रममा संघका तर्फबाट उत्कृष्ट उद्योगका रुपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रा.लि.लाई सम्मान गरिएको थियो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई सम्मान गर्नुभएको थियो ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरु स्थापना भएका छन् भने ६६ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । उद्योगहरुमा करिब ३ हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् । पदस्थापनको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ढकालले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनका लागि सबै लाग्नुपर्ने बताउनु भयो । जबसम्म आर्थिक विकास हुँदैन तबसम्म मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरामा प्रदेश सरकार दृढ रहेको बताउंदै मन्त्री ढकाले राजनीतिक रुपमा उठेका विषयलाई सहि रुपमा लैजान औद्योगिक विकासमा जोड दिनुपर्ने अवस्था आएको बताउनुभयो । उहांले उद्योगीहरुको निराशालाई हटाउन प्रदेश सरकारले नयाँ उद्योग नीति बनाउन लागेको जानकारी गराउनुभयो ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहरी पाठकले विभिन्न कारणले नेपालको औद्योगिक वातावरणमा समस्या देखापरेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगहरुको नीतिगत तथा भौतिक विकासका अप्ठ्यारा समाधानका लागि राज्यको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउँदै त्यसको भौतिक विकासमा जोड दिन आग्रह गर्नुभयो । संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउँदै उद्योग बिस्तारका लागि जग्गाको कमी भैरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपेन्द्र अग्रवालले प्रतिवद्धता मन्तव्य राख्दै औद्योगिक क्षेत्रभित्रका समस्याहरुलाई समाधान गर्न आफ्नो नेतृत्वले इमानदारिताकासाथ काम गर्ने र त्यसमा सबैको सहयोगको अपेक्षा गर्नुभयो । महासचिव प्रज्जवल थान्जुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली लगायतले शुभकामा व्यक्त गर्नुभएको थियो ।