भैरहवा । न्यु होराइजन ‘बी’ टिम र साई ग्लोबल कलेज ‘ए’ टिम भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । आइतबार भएका दुई खेलमा न्यु होराइजनले आईएसएमटी कलेजमाथि ६ रन र साई ग्लोबल कलेजले खुदाबगर कलेजमाथि ५१ रनको जित निकालेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ५ विकेटको नोक्सानीमा ९३ रन बनायो । उसका लागि अनुप न्यौपानेले २९, समिरजंग सिंह ठकुरीले २०, निर्मल गुरुङले १७ र रन्जित मौर्यले अविजित १० रनको योगदान गरे । बलिङमा आईएसएमटी कलेजका सन्देश जिसीले २ तथा विष्णु कटरिया, अजय यादव र पवन विष्टले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको आईएसएमटी कलेजले निर्धारित खेलमा ९ विकेट गुमाएर जम्मा ८७ रन बनायो र हार व्यहोर्यो । उसका लागि विष्णु कटरियाले २३, पवन विष्टले १५ र अजय यादवले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा न्यु होराइजनका शुभम पाण्डे र निश्चल ज्ञवालीले ३–३ तथा निर्मल गुरुङले २ र सुप्रिम कँडेलले १ विकेट हात पारे । खेलमा शुभम पाण्डे प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘ए’ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन बनायो । उसका लागि अविजित ज्ञवालीले ३३, शैलेन्द्र यादवले १९ र निरज चाईले १५ रन बनाए । बलिङमा खुदाबगरका जावेद खान र अप्सन नेपालीले २–२ तथा सनु मल्लाहले १ विकेट हात पारे ।
प्रतिउत्तरमा खुदाबगरले ११ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ६१ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न साई ग्लोबलका अजयकुमार चौहानले ५, शैलेन्द्र यादवले ३ तथा दीपु चाई र अभिशेष पासीले १–१ विकेट लिए । खुदाबगरका हरुण खानले १३ र सनु मल्लाहले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र हार व्यहोर्यो । खेलमा अजयकुमार चौहान प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।