भैरहवा । गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिनुभएको छ । उहांले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिनुभयो । ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छ’ गृहमन्त्रीले भन्नुभयो –‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै उहांले यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताउनुभयो । उहांले शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा रहेको बताउनुभयो । उहांले संविधानको सहि कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्नेमा उहांले जोड दिनुभयो । उहांले गोष्ठी विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताउँदै परिणाममुखी बनाउन आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले सरकार फेरिने हल्ला अस्थिरताका कारक भएकोले यस्ता गलत हल्लाका पछि नलाग्न समेत आग्र्रह गर्दै यो गठबन्धन स्थायित्व र शुसासनका लागि भएकोले ०८४ सम्म कायम रहने विषयमा कुनै भ्रम नरहेको प्रष्ट पार्नुभयो ।
गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेशकुमार अग्रवाल, नेपाल प्रहरीका प्रहरी प्रुमख वसन्त कुँवरसहित लुम्बिनी प्रदेका १२ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ । गोष्ठीमा सीमासुरक्षा, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौतीका विषयमा छलफल गरिने गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी गराउनुभयो ।