भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रविधि मैत्री बन्दै गएको छ । नागरिकलाई दिइने सेवा प्रवाहलाई सहजबनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधिको प्रयोगलाई बढाएको छ । नगरपालिकाले क्यूआर कोड मार्फत राजस्व भुक्तानी सुरु गरेको छ । त्यस्तै फोहोर मैला संकलन गर्ने ट्याक्टरहरुमा जिपिएस जडान गरी कहाँ छन् भन्ने पत्ता लगाउन सकिने ब्यबस्था मिलाएको छ ।
यसबाट फोहोर मैला सकंलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन भन्ने पत्ता लगाउन सकिने छ भने आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकिने छ । यसकालागि आफ्नो मोवाईलमा लुना जिपिएस डाउनलोड गरी सहजै सेवा लिन सकिने ब्यबस्था मिलाईएको छ ।
त्यस्तै राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । नगरपालिका कार्यालय अन्तर्गत राजस्व प्रशासन शाखा, घर नक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । नगरपालिकालाई प्रविधि मैत्री बनाउने आफ्नो प्रतिबद्धा अनुसार नविनतम प्रविधिलाई अधिकत प्रयोगमा ल्याउने कोशिस भैरहेको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले जानकारी दिनुभयो । उहांले यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्ययी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तिय जोखिम न्यूनिकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताउनुभयो । नगरपालिको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।